१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

अमेरिकामा अस्ताए साहित्यकार विजय खरेल, झापाली स्रष्टा सर्जक शोकमा



बिर्तामोड-साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी समय अनुसार आइतवार अपरान्ह तीनबजे साहित्यकार खरेलको निधन भएको हो । उनी १९ जेठमा अमेरिका गएका थिए ।

अकस्मात विरामी परेपछि अमेरिकाको टेक्सास राज्यको मेमोरियल हर्मन केटी सहरमा उनको उपचार भइरहेको थियो । साहित्यमार्फत अमेरिकी समाजको चित्रण सामग्री प्राप्त हुने झापाली साहित्यकारको अपेक्षाविपरीत उनको निधनको खबर आएको हो ।

खरेलको निधनले झापाली साहित्य क्षेत्र शोकमा डुवेको छ । लेखन प्रतिभाका धनी झर्रोवादी साहित्यकार खरेललाई गुमाउनु पर्दा धेरै दुःख लागेको साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

१३ जेठमा साहित्यकार खरेलको कृति नेपाली झर्रा शब्द सङ्ग्रह साहित्य चौतारीको सभाहलमा बिमोचन भएको थियो । सोही अवसरमा चौतारीले खरेललाई अभिनन्दन पनि गरेको थियो ।

साहित्य चौतारी झापाको मासिक साङ्गीतिक काव्य सभाको अवसरमा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार चूडामणि रेग्मीले शब्द सङ्ग्रह बिमोचन गरेका थिए ।

साहित्यकार खरेलको निधनप्रति झापाली स्रष्टा सर्जकले दुःख व्यक्त गरेका छन् । साहित्यकार पून्यप्रसाद खरेल फेसबुकमा लेख्छन्, ‘आखिरमा हामीले साहित्यकार, झर्रो नेपालीमा साहित्य लेख्न माहिर श्रद्धेय दाइ विजय खरेललाई अमेरिकामा त्यहाँक‍ो स्थानीय समय अपरान्ह ३ बजे गुमाउन पुग्यौ ।’

उनले अगाडि लेखेका छन्, ‘म उहाँमा भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दै भाउजू पार्वती खरेल, छोरा प्रयास, छोरीहरू जयन्ती, चन्दालगायत सबै परिवारजनमा शोकको बज्राघातलाई मरणशील मानिसको अति बाध्यात्मकता बोध गरी सहन गर्न म आफैं पनि अत्यन्तै भावुक भएर समवेदना व्यक्त गर्दछु ।’

मेचीनगर–६ काँकरभिट्टा निवासी खरेलका छोरा प्रयास र बुहारी अमेरिकाको टेक्सासमा छन् । उनकी पत्नी पार्वती खरेल पनि अमेरिका भ्रमणमा छिन् । उनकी छोरी जयन्ती खरेल र चन्दा खरेल मेचीनगर नगरपालिकामा कार्यरत छन् ।

अमेरिका गएलगत्तै ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि खरेल सिकिस्त विरामी परेका थिए । उनको भेन्टीलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनका प्रकाशित कृति

उहाँका प्रकाशित कृति :

बिजयका निबन्ध (निबन्ध, २०६४),
क्षितिजवारि क्षितिजपारि (काब्य, २०६५),
बाटुली (बिज्ञान काब्य, २०६६),
इन्द्रकिल पहाडसँग (यात्रा संस्मरण, २०६८),
बिजयका कविता (कविता संग्रह, २०६५),
सम्झनाका तरेली (निबन्ध संग्रह, २०७७),
छोपिएका तारा (इतिहास),
कति रोउँ म (शोक काब्य),
राम साइँलीहरु (कथा कुथुंग्री, २०७४),
अल्पिल्टा स्वरहरु (निबन्ध संग्रह, २०७८)
कल्पना, मुनाहरु (समालोचना, २०७८),
झर्रा शब्दहरुको संग्रह (शब्दकोश, २०७९),
झिल्काहरु (कुथुंग्री संग्रह),
युगारम्भ (उपन्यास, २०७९) 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार ००:००  ८ : ५५ बजे