२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

झापाको शिवसताक्षीमा सौर्य उर्जामा आधारित १० मेगावाट क्षमताको विद्युत् परियोजना अन्तिम चरणमा



सुब्रत न्यौपाने सतासीधाम– झापाको शिवसताक्षी–४ सालमारामा सौर्य उर्जामा आधारित एउटा महत्वकांक्षी विद्युत् परियोजना सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

सोलार प्लान्टबाट १० मेगावाट बिजुली निकाल्ने रणनीतिक महत्वको दीर्घकालिन परियोजना सञ्चालनको तयारी भइरहेको हो । झापा इनर्जीको अग्रसरतामा निर्माण प्रारम्भ भएको परियोजनाको ७० प्रतिशत काम सकिएको छ ।

आगामी असोजदेखि सोलारमार्फत बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको झापा इनर्जीका प्रवन्ध सञ्चालक सुवास भट्टराईले बताए । यसअघि जेठभित्र परियोजना सञ्चालन गर्ने तयारी भएको थियो ।

परियाेजनास्थलकाे अवलोकन गर्दै झापा इनर्जीकाे टाेली ।

स्रोत साधनको उपलब्धता, जनशक्ति व्यवस्थापन लगायतका काममा विलम्व हुँदा परियोजना सञ्चालनको पूर्ववत लक्ष्य पछाडि धकेलिएको हो । दुई वटा बैँकको ऋण लगानीमा झापा इनर्जीले परियोजनाको कार्यान्वयन अगाडि बढाएको छ ।

परियोजनामा माछापुछ्रे बैँकले ३५ करोड र सिभिल बैँकले २५ करोड रुपैयाँ लगानी गरेका छन् । बैँकदेखि बाहेक परियोजनामा सर्वसाधारणको २० करोड रुपैयाँ लगानी रहने प्रवन्ध सञ्चालक भट्टराईले जानकारी दिए ।

‘करिव ८० करोडको लागतमा यो परियोजना सुरु हुन्छ’, भट्टराईले भने, ‘सामूहिक लगानीको आधारमा सौर्य उर्जाको यो पहिलो परियोजना हो ।’

परियोजनालाई सोलार टुरिजमको रुपमा समेत विकास गरी वरपरको क्षेत्रलाई व्यवसायिक बनाउने लक्ष्य राखिएको सञ्चालक पवित्रा महतारा प्रसाईले बताइन् ।

‘नमुना परियोजना भएकाले यहाँ होटल तथा रिसोर्ट सञ्चालन गर्न सकिन्छ’, सञ्चालक प्रसाईले भनिन्, ‘वरपरको क्षेत्रलाई व्यवसायिक कृषिका रुपमा विकास गर्ने योजना पनि छ ।

२२ विघा क्षेत्रफलमा फैलिएको परियोजनामा पाँचसय वाट क्षमताको २१ हजार आठसय ४० वटा सोलार प्यानल राखिने इञ्जिनियर केशव चापागाईले बताए ।

सरकारले किन्छ बिजुली
परियोजनाको काम पूरा भएलगत्तै विद्युत् उत्पादन सुरु हुन्छ । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले किन्नेछ । विद्युत् खरिद सम्झौता भइसकेकाले उत्पादित विद्युत् उपयोगिताका दृष्टिले कुनै समस्या नरहेको प्रवन्ध सञ्चालक भट्टराईले बताए ।

विद्युत् विकास विभागले अघिल्लो वर्षको बैशाखमा झापा इनर्जीलाई सौर्य उर्जामा आधारित विद्युत् उत्पादनको अनुमति दिएको थियो ।

परियोजनाबाट उत्पादित बिजुली नजिकै रहेको बुलुचोक सवस्टेसनमा जोडिनेछ । त्यसका लागि झापा इनर्जी आफैँले ९६० मिटर प्रशारण लाइन निर्माण गरिसकेको छ ।

परियोजनामा उच्च प्रविधियुक्त र विश्वसनीय ब्राण्डका सोलार प्यानल तथा उपकरण जडान गरिन लागेको प्रवन्ध सञ्चालक भट्टराईले बताए ।

२५ वर्षका लागि विद्युत् खरिद सम्झौता
नेपाल विद्युत् प्राधिकरण र झापा इनर्जीबीच २५ वर्षका लागि विद्युत् खरिद सम्झौता भएको छ । यसका आधारमा प्राधिकरणले २५ वर्षसम्म आयोजनाबाट उत्पादित बिजुली सात रुपैयाँ ३० पैसा प्रति युनिटका दरमा किन्नेछ ।

आयोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मा विद्युत् खरिद सम्झौता भएको थियो । सम्झौता अनुसार परीक्षण चरणको १५ दिन झापा इनर्जीले प्राधिकरणलाई उत्पादित बिजुली निशुल्क दिनु पर्ने सञ्चालक प्रसाईले बताइन् ।

परियोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गर्नेछ । यसका आधारमा आयोजनाले वार्षिक १२ करोड ८५ लाख आम्दानी गर्ने प्रारम्भिक आँकलन गरिएको छ ।

साँवाको अवधारणामा प्रसाईको साथ
सौर्य उर्जामा आधारित विद्युत् उत्पादन गर्ने दीर्घकालिन लक्ष्यका साथ तीन वर्ष अघि झापा इनर्जी स्थापना भएको थियो । झापा इनर्जीका अध्यक्ष एमाले सांसद एलपी साँवा हुन् ।

उनको अवधारणा अनुसार यो परियोजना अगाडि बढेको हो । सानो सानो लगानी जम्मा पारेर ठूलो लाभ लिने किसिमका योजना कार्यान्वयन गर्नुपर्छ भन्ने मान्यता एमाले सांसद साँवाको छ ।

साँवाको अवधारणालाई मूर्तरुप दिन परियोजनाका लागि जग्गा व्यवस्थापन गर्नेदेखि लगानी जुटाउने सम्मको अभियानमा स्वर्गीय ज्ञानुराम प्रसाईको नेतृत्वदायी भूमिका थियो । प्रसाईको जोडबलमा धेरै सर्वसाधारणले परियोजनामा लगानी गरेका छन् ।

जग्गाको भाउ आकासियो
परियोजनास्थलमा भ्यूटावर बनाउने, आकर्षक गार्डेनिङ गर्ने लगायतका योजना पनि रहेको सञ्चालक नारायण पोखरेलले बताए । परियोजना स्थापना भएपछि त्यस क्षेत्रको जग्गाको भाउ बढेको छ ।

झापा इनर्जीले परियोजनाका लागि ११ देखि २४ लाख रुपैयाँ प्रतिविघाका दरले जग्गा किनेको थियो । परियोजना कार्यान्वयनको अन्तिम तयारी भइरहँदा त्यहाँको जग्गा प्रतिकठ्ठा १० लाख भन्दामाथि किनबेच हुन थालेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार ००:००  १२ : ५४ बजे