बिर्तामोड-होटल व्यवसायी संघ झापाको अध्यक्षमा इन्दिरा श्रेष्ठ चयन भएकी छन् । संघमा श्रेष्ठको यो दोस्रो कार्यकाल हो ।
पहिलो कार्यकालको दुई वर्ष कोरोना संक्रमणसँग जुधेकी श्रेष्ठ शुक्रवार भएको १० औँ जिल्ला अधिवेशनमार्फत दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।
व्यवसायिक हतहित र संस्थागत सुदृढीकरणलाई मुख्य एजेण्डा बनाएकी श्रेष्ठ आफ्नो दोस्रो कार्यकाल प्रभावकारी र रचनात्मक बनाउने योजनामा छिन् ।
श्रेष्ठले १० औँ अधिवेशनमार्फत व्यवसायिक हित र संरक्षणमा सहयोग पुग्ने योजना पनि सार्वजनिक गरेकी छन् । अध्यक्ष श्रेष्ठले अघिल्लो कार्यकालमा निर्माणाधीन अवस्थामा रहेको जिल्ला संघको भवनलाई पूर्णता दिने बताउँदै सबैको सहयोगको खाँचो रहेको औँल्याइन् ।
होटल व्यवसायलाई फराकिलो दायराबाट हेरिनु पर्छ भन्ने मान्यतामा रहेकी श्रेष्ठको नेतृत्वमा आगामी तीनवर्षे कार्यकालका लागि १५ सदस्यीय कार्य समिति चयन भएको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा ख्यामप्रसाद ओली चयन भएका छन् । उपाध्यक्षमा रामकुमार प्रसाई, महासचिवमा शिवराज पौडेल, सचिवमा मानबहादुर गिरी र कोषाध्यक्षमा रमेश मगर निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
संघको सदस्यहरुमा तिलकबहादुर श्रेष्ठ, ढुका कुमाल, निरज सिटौला, टेकबहादुर बस्नेत, डम्बरबहादुर नेम्वाङ, जयप्रकाश राई, नोर्वुलामा शेर्पा, भीम सुब्बा र चन्द्रा बुढाथोकी चयन भएका छन् ।
नवनिर्वाचित नेतृत्वलाई डिल्ली दाहाल संयोजक र डिल्लीराम घिमिरे, डिल्लीराम मैनाली सदस्य तथा सदस्य सचिव कल्पना मिश्रको निर्वाचन मण्डलीले सपथ गराएको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईले पर्यटन प्रवर्द्धनमा होटल व्यवसायको भूमिका महत्वपूर्ण हुने बताएकी थिइन् ।
नगर प्रमुख प्रसाईले अन्तर्राष्ट्रिय अनुभव र अभ्यासबाट सिकेर नेपालमा पनि स्थानीय स्रोत साधन परिचालन गरी पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा होटल व्यवसायीहरु लाग्नु पर्नेमा जोड दिइन् ।
उद्घाटन समारोहमा होटल व्यवसायी महासंघका उपाध्यक्ष देबी गौतम (रबिन), कोशी प्रदेश अध्यक्ष राजन दङ्गाल, मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, चेम्बर अफ कमर्श झापा अध्यक्ष ओमकृष्ण बिमली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यालय सचिव मिश्र सम्मानित
संघले अधिवेशनको अवसर पारेर कार्यालय सचिव कल्पना मिश्रलाई सम्मान गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले दोसल्ला ओढाएर मिश्रलाई सम्मान गरेकी हुन् । मिश्र लामो समयदेखि होटल व्यवसायी संघमा कार्यरत छिन् ।
