१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

डा. शाहीको अनुभवले भन्छ, ‘९५ प्रतिशत बिरामीको उपचार यही सम्भव छ’



बिर्तामोड-दुई दशकदेखि चिकित्सा क्षेत्रमा अनुभवसिद्ध वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रेमबहादुर शाहीले ९५ प्रतिशत बिरामीलाई अन्यत्र रेफर नगर्ने बताएका छन् ।

झापाको बिर्तामोड–३ स्थित पूर्व पश्चिम राजमार्गको भगवान चोकमा स्पाइनेक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर स्थापना गरेका डा. शाहीले अधिकतम् विरामीको उपचार आफ्नै अस्पतालमा सम्भव रहेको औँल्याएका हुन् ।

यसअघि बिर्तामोडको कनकाई हस्पिटलमा लामो समय काम गरेका डा. शाहीले औँलामा गन्न सकिने गरी करिव एक प्रतिशत बिरामी मात्रै आफूले अन्यत्र अस्पतालमा रेफर गरेको अनुभव सुनाए ।

डा. शाहीको नेतृत्वमा स्थापना भएको ट्रमा सेन्टर १५ शैयाको छ । एक वर्षपछि यसलाई विस्तार गरेर १०० शैयाको बनाइने लक्ष्य राखिएको छ ।

ट्रमा सेन्टरको उद्घाटन
एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा. बिनोद बिजुक्छेले सोमवार ट्रमा सेन्टरको उद्घाटन गरेका छन् । स्पाइनेक्स सुपर स्पेसलिटी हस्पिटल मेरुदण्ड (स्पाइन) सम्बन्धी उपचार गर्ने नेपालकै यो पहिलो हस्पिटल हो ।

सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्ने गरी ट्रमा सेन्टर स्थापना भएको हो । तत्काल विशेषज्ञ उपचार सेवा उपलब्ध भएमा जीवन बचाउन सकिने सम्भावना भएकाले स्पाइन ट्रमा अस्पतालको आवश्यकता भएको डा. शाही बताउँछन् ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतराले बिर्तामोड स्वास्थ्य उपचारको केन्द्र बनेकोमा खुशी व्यक्त गर्दै उपचारमा कम आय भएका सर्वसाधारणको पहुँच स्थापित गर्नु आजको चुनौति भएको बताइन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार ००:००  ९ : १५ बजे