बिर्तामाेड-गोरखा फाउण्डेसनले विभिन्न क्षेत्रका व्यक्तित्वलाई बुधबार विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान गरेको छ । झापाको बिर्तामोडमा आयोजित विशेष समारोहका बीच फाउण्डेसनले उनीहरूलाई सम्मान गरेको हो ।
नेपालको सहकारी अभियानका सशक्त व्यक्तित्व, सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीसहित सिने जगतका दुई र सार्वजनिक सेवाका दुई गरी पाँच व्यक्तित्वलाई सम्मान समर्पण गरिएको छ ।
सम्मानित हुनेहरूमा महानायक राजेश हमाल, चलचित्र निर्देशक तुलसी घिमिरे, काठमाडौँकी पूर्व प्रमुख जिल्ला अधिकारी सीता परियार र अन्टार्टिका महादेश पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा रहेका छन् ।
पाँचैजना सम्मानित व्यक्तित्वलाई जनही ५१ हजार र प्रशंसा पत्रसहित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य गोपालकुमार बस्नेतले सम्मान गरेका हुन् ।
फाउण्डेसनका अध्यक्ष बीरु दर्लालले राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार विशे नगर्चीकाे योगदानलाई चिरस्थायी बनाउने प्रयास स्वरूप विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्न सुरु गरिएको बताए ।