काठमाडौँ-सरकारबाट बाहिरिने एकीकृत समाजवादीको चेतावनीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबमा परेका छन् । आफूहरूले चारवटा मन्त्रालय पाउनुपर्ने समाजवादीको अडानपछि एकजना मन्त्री थप्न प्रधानमन्त्रीलाई दबाब परेको हो ।
आफूले भनेअनुसारका मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी एकीकृत समाजवादीले दिइसकेको छ । दुई मन्त्री एक राज्यमन्त्री सहित थप एक प्रभावशाली मन्त्रालय पाउनुपर्ने समाजवादीको अडान छ ।
मन्त्रालयका विषयमा कुरा नमिलेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धन बैठक छोडेर हिँडेका थिए । त्यस यताका बैठकमा अध्यक्ष नेपाल सहभागी छैनन् ।उनले उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई पठाउँदै आएका छन् ।
राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादीका तर्फबाट थप एकजनालाई मन्त्री बनाउने तयारी गरेका छन् ।