८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

चौधरीलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम



बिर्तामोड-आदिवासी नेता पाण्डवलाल चौधरीलाई रिहा गर्न पहिचान पक्षधर समूहले २४ घण्टे अल्टिमेटम दिएको छ । स्थानीय प्रशासनलाई बुधवार ज्ञापनपत्र बुझाउँदै समूहले यस्तो अल्टिमेटम दिएको हो ।

प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त समिति झापाले चौधरीलाई २४ घन्टाभित्र छाड्न अल्टिमेटम दिएको पहिचानवादी नेता दीपेनवाला राईले बताए । ‘चौधरी रिहा नभए संघर्षका कार्यक्रम अघि बढाउँछौँ’, राईले भने ।

प्रहरीले मंगलबार राति अर्जुनधारा–६ स्थित घरबाट चौधरीलाई गिरफ्तार गरेको थियो । बुधबार प्रहरीले अभद्र व्यवहार अन्तर्गत चौधरीविरुद्ध मुद्दा दर्ता गरेको आदिवासी जनजाति महासंघ झापाले जनाएको छ ।

मंगलबार दमकमा मुख्यमन्त्री केदार कार्कीलाई कालो झन्डा देखाउँदै गाडीमा ढुंगा प्रहार भएको थियो । उक्त घटनापछि प्रहरीले प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त समितिका संयोजक चौधरीलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार ००:००  ९ : ३८ बजे