१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

फिदिमका २० विद्यालयमा सीसी क्यामेरा जडान



पाँचथर-फिदिमका सबै माध्यमिक विद्यालयमा सीसी क्यामेरा जडान गरिएको छ । फिदिम नगरपालिकाले १४ वटै वडामा रहेका २० माध्यमिक विद्यालयमा सीसी क्यामेरा जडान गरेको हो ।

प्रत्येक विद्यालयमा चार वटाका दरले क्यामेरा जडान गरिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताए । उनका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा आठलाख ८५ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

नगर प्रमुख काफ्लेका अनुसार मोबाइलमा समेत ८० वटै सीसी क्यामेराले कैद गरेको भिडिओ हेर्न मिल्नेछ । फिदिम-१० का वडाध्यक्ष ओमराज थाम्सुहाङले नगरपालिकाबाटै निगरानी हुने भएपछि विद्यालयमा देखिने बेथिति कम हुने आशा जागेको बताए ।

सीसी क्यामेरा जडानलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने प्रयासको सुरुवातका रुपमा लिइएको बताए ।फिदिममा २० माध्यमिकसहित ७९ सामुदायिक विद्यालय छन् । सबै सामुदायिक विद्यालयमा विद्युत्, इन्टरनेट र ई–हाजिरीको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ००:००  ४ : ०० बजे