७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

उपनिर्वाचनका लागि छानिए एमाले उम्मेदवार, रावलसँग वार्ता गर्न कमिटी गठन



झापा- नेकपा एमालेले वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । एमालेको शनिबार बसेको उन्नाइसौं सचिवालय बैठकले पार्टीका उम्मेदवारको टुंगो लगाएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा सर्वेन्द्र खनाल र चितवन २ मा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बारा ३ मा उठाइने उम्मेदवारको चयन गर्ने जिम्मेवारी बैठकले पार्टी अध्यक्ष ओलीलाई दिएको छ । अध्यक्ष ओलीले थप छलफल गरी उम्मेद्वारको टुंगो लगाउने डाँडाको निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकले पार्टीका पूर्व उपाध्यक्ष भीम रावलसँग छलफल गरी पार्टीमा आवश्यक सुझाव दिन उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा पार्टीका सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा रहेको वार्ता टोली गठन गरेको छ ।

एमालेको सचिवालय बैठकले मिटर ब्याज पीडित नागरिकका समस्या समाधान गर्न र देशको वर्तमान आर्थिक संकटका सम्बन्धमा गम्भीर छलफल गरी तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने पनि निर्णय गरेको महासचिव पोखरेलले बताए ‌।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार ००:००  ८ : ०० बजे