बिर्तामोड- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन २० बर्षे योजना तयार गर्नुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ झापा अन्तर्गत कनकाई र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिको आयोजनामा आइतवार बिर्तामोडमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले यस्तो धारणा राखेका हुन् ।
‘यहाँको पपुलेशन हेर्दा अबको २० बर्षमा नेपाल बुढो हुन्छ’–प्रतिनिधिसभाको सांसद समेत रहेका थापाले भने ‘‘२० बर्ष अघि नै नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन सकेमात्रै यसको विकास सम्भव छ, बुढो भएपछि विकास सम्भव हुँदैन ।’
उनले जापान र कोरियाको उदाहरण प्रस्तुत गर्दै ती देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेका कारण मात्रै अहिले विदेशबाट कामदार लगेर रोजगारी दिन सम्भव भएको बताए ।
आफूलाई आम निर्वाचन २०८४ को भन्दा नयाँ पुस्ताले कस्तो नेपाल पाउँछन् भन्ने चिन्ता रहेको बताउँदै नेता थापाले नयाँ आउने राजनीतिक शक्तिहरुले उत्तेजनाको राजनीति गरेको आरोप लगाए ।