१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मूल्य नपाएपछि आन्दोलनमा उत्रिने सुपारी किसानको चेतावनी



बुद्धशान्ति- सरकारले विदेशी सुपारी आयातलाई प्राथमिकता दिएकाले स्वदेशी सुपारीले उचित भाउ नपाएको सुपारी कृषकहरुले गुनासो गरेका छन् । बुद्धशान्तिमा बुधबार पत्रकार सम्मेलन गर्दै सुपारी कृषकहरुले गुनासो यस्तो गुनासो पोखेका हुन् ।

झापा, इलाम, मोरङ र सुनसरी जिल्लाका सुपारी कृषकहरुको भेलाबाट गठित नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले कृषकले उत्पादन गरको काँचो सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरे ।

बिचौलियाका कारण सरकार निर्यात गर्न भन्दा पनि आयात गर्न लागिपरेको अधिकारीको धारणा छ । कृषकले उत्पादन गरेको सुपारी सहज तरिकाले निर्यात हुन नसकेपछि सरकारी अधिकारीको ध्यनाकर्षण गराइएको हो ।

सुपारीलाई कृषि उपजमा सूचीकृत गरिनुपर्ने माग राख्दै आएका सुपारी कृषकले कृषि बिकास मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्ना मागहरु राख्दै आएको संयोजक अधिकारीले बताए ।

सरकारले माग सुनवाई नगरे देशैभरका दश लाख बढी सुपारी कृषकलाई आन्दोलनमा उतार्ने अधिकारीको चेतावनी छ ।

३० बर्षदखि सुपारी व्यवसाय गर्दै आएका अर्जनधाराका सुपारी व्यवसायी सुरेन्द्र साह सुपारी कृषकका लागि खोलिएका संस्थामा वास्तविक किसान नभएको बताउँछन् ।

साहका अनुसार नेपालको राम्रो लोकल सुपारी भारत जान्छ र भारतको बिग्रेको सुपारी नेपाल आउने गरेको छ । सुपारी कृषक नारायण न्यौपानेले पनि कृषकले बिचौलियाका कारण सोझै बिक्री गर्न नपाउँदा कम मूल्यमा बिक्री गर्नु परेको बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार ००:००  ९ : २४ बजे