१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भद्रपुरका पूर्व मेयरसहित तीन जनाको पार्टी सदस्यता खारेज !



भद्रपुर-नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर कमिटीले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरीत कार्य गर्ने तीन जनाको पार्टी सदस्यता खारेज गरेको छ । एमाले भद्रपुर नगर कमिटीको पुस २९ गते बसेको सचिवालयको विस्तारित बैठकले सदस्यता खारेजको निर्णय गरेको हो ।

बैठकले पार्टी पूर्व प्रदेश कमिटीका सदस्य एवम् पूर्वमेयर जीवनकुमार श्रेष्ठ, पूर्व नगर इञ्चार्ज तथा जिल्ला कमिटी सदस्य हरि तिम्सिना र पूर्व जिल्ला कमिटीका विभागीय सदस्य लोकनाथ भट्टराईको सदस्यता खारेज गरी निर्णय अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाएको छ ।

विधानको धारा ८० को १,२,३, ४ र ५ अनुसारको कसुर गरेको ठहर गरी विधानको धारा ८१ (१) बमोजिम निजहरुको पार्टी सदस्यता खारेजीको निर्णय गरेको एमालेले जनाएको हो । निर्णय अनुमोदनका लागि पार्टी जिल्ला कमिटीमा अनृुरोध गरी पठाउने निर्णय पनि गरेको छ ।

नगर अध्यक्ष ब्रम्हलाल ढुङ्गानाको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य तथा भद्रपुर नगर इन्चार्ज सुनिता बरालको प्रमुख आतिथ्यमा कोशी प्रदेश कमिटी सचिवालय सदस्य बसन्त बानियाँ, कोशी प्रदेश कमिटी सदस्य तथा क्षेत्र नं.३ (१) का इन्चार्ज सन्तलाल मेचे र पार्टी जिल्ला कमिटी सदस्य तथा भद्रपुर सह इन्चार्ज कालीचरण बस्नेत सहितको आतिथ्यमा बैठक बसेको थियो ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार ००:००  ८ : ५२ बजे