काँकडभिट्टा-नेकपा एकीकृत समाजवादी पार्टीले मेची महाकाली राष्ट्रिय समाजवादी जागरण यात्रा आयोजना गर्ने भएको छ । आइतवारदेखि झापाको काँकडभिट्टाबाट जागरण यात्रा सुरु हुन लागेको हो ।
जागरण यात्रामा सहभागी हुन समाजवादीका केन्द्रीय नेता काँकडभिट्टा आइपुगेका छन् । आइतवार बिहान ११ बजे पार्टी अध्यक्ष माधवकमुार नेपाल र सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय जागरण यात्रा उद्घाटन गर्ने कार्यक्रम छ ।
अभियानको पूर्वसन्ध्यामा शनिवार अपरान्ह काँकडभिट्टामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेतले पार्टी नीतिको प्रचार गर्दै जनतासँग हालेमालो गर्न जागरण यात्रा गर्न लागिएको बताए ।
काँकरभिट्टाबाट सुरु हुने जागरण यात्रा असोज २८ गते सुर्खेतमा पुगेर समापन हुनेछ । दोश्रो चरण अन्तरगतको अभियान तराईदेखि पहाडसम्म सञ्चालन गरिने समाजवादीले जनाएको छ ।