बिर्तामोड– नक्कली सुन बेचेर ठगी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट साेमबार एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको जलपाइगुडीका ५४ वर्षीय शेरबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार गिरीले शनिश्चरे रोडमा बुद्धशान्ति-२ की ४५ वर्षीया सविता सिटौलालाई काँचो सुन भन्दै नक्कली सुन बेचेका थिए ।
सिटौलाबाट ६० हजार रूपैयाँ लिएर फरार भएका गिरीलाई तत्कालै पक्राउ गरिएको डीएसपी चन्दले बताए । आफू ठगिएको भन्दै सिटौलाले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी गरेकी थिइन् ।