१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

‘आर्थिक पारदर्शिता र राहत कोष स्थापना मेरो मुख्य एजेण्डा’



बिर्तामोड-बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुन लागेको निर्वाचनमा कोषाध्यक्ष पदका उमेद्वार युवराज निरौलाले व्यवसायिक हितका लागि कोष स्थापना गरी राहतका कार्यक्रम सञ्चालन गर्नु आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।

चुनावी प्रचारका सिलसिलामा सञ्चारकर्मीसँग कुरा गर्दै कोषाध्यक्ष पदका उमेद्वार निरौलाले निर्वाचित भएपछि संघभित्र आर्थिक पारदर्शिता कायम गर्नु, व्यवसायीबाट संकलन भएको रकमको दुरुपयोग रोक्नु आफ्नो दायित्व हुने बताएका हुन् ।

वाणिज्य संघको अहिलेको नेतृत्वले व्यवसायीको हितमा काम गर्न नसकेको विद्यमान परिस्थितिका बीच कोषाध्यक्ष पदका उमेद्वार निरौलाले व्यवसायीको मुद्दामा लविङ गर्न सक्ने व्यवसायिक क्षमता आफूमा रहेको जनाउँदै आफ्नो अमूल्य मत दिएर बिजयी गराउन मतदाता आम व्यवसायीलाई अपिल पनि गरेका छन् ।

आपतमा परेका व्यवसायीले संघको सदस्य भएवापत अहिलेसम्म कुनै राहत सुविधा नपाएको सन्दर्भ उल्लेख गर्दै निरौलाले आफू निर्वाचित भए व्यवसायिक हितकोष खडा गरी त्यसमार्फत आपतकालिन राहतका कार्यक्रम सञ्चालन गर्ने बताए ।

व्यवसायीमाथि सरकारी निकायबाट हुने अनावश्यक थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएका निरौला विगत १६ वर्षदेखि बिर्तामोडमा व्यवसाय गरिरहेका छन् । उनी मोवाइल व्यवसायी हुन् ।

बिर्तामोड मोवाइल एशोसिएसनका अध्यक्ष समेत रहेका निरौला अन्य संघ संस्थामा पनि नेतृत्वदायी भूमिकामा छन् । स्वतन्त्र व्यवसायिक प्यानलबाट उमेद्वारी दिएका निरौलाले नयाँ नेतृत्व छान्न मतदाता उत्साहित भएको बताए ।

उनले अर्जुन मैनालीको नेतृत्वमा रहेको प्यानललाई अत्याधिक मतले बिजयी गराउन र संघको अनुभूति गर्न सबैलाई व्यवसायीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार ००:००  ९ : ५८ बजे