संखुवासभा–जिल्ला अस्पताल संखुवासभामा चौबीसै घण्टा शल्यक्रियासहितको प्रसूति सेवा सञ्चालनमा आएको छ । शल्यक्रियाबाट सुत्केरी गराउन दुई चिकित्सक, एक एनेस्थेसिया र एकजना स्टाफ नर्सको व्यवस्थासहित अस्पतालले प्रसुति सेवा सुरु गरेको हो ।
जिल्ला अस्पतालले प्रसुति सेवा दिन थालेपछि भोजपुर र संखुवासभाका गर्भवतीलाई ठूलो रकम खर्चेर तराईका अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ ।
अस्पतालमा शल्यक्रियासहित प्रसूति सेवा सञ्चालनमा भएपछि गर्भवतीले धरान, विराटनगर र काठमाडौं जानुपर्ने बाध्यता हटेको स्थानीय सुशीला श्रेष्ठले बताइन् ।
गत आर्थिक वर्षमा संखुवासभा अस्पतालमा संखुवासभा र भोजपुरका एक हजार १५७ जना सुत्केरी भएका थिए । तीमध्ये ३६१ जनाको शल्यक्रिया गरिएको थियो ।
चालु आर्थिक वर्षको साउन यता २९३ जना सुत्केरी भएकोमा ११४ जनाको शल्यक्रिया भएको जिल्ला अस्पताल संखुवासभाका प्रशासन प्रमुख जुनकुमार राईले जानकारी दिए ।
प्रसूति सेवा लिन संखुवासभा र भोजपुरसँगै धनकुटाबाट समेत गर्भवतीहरु आउने गरेका छन् ।