बिर्तामोड– नारी सञ्चार गृह झापाले संस्थापक अध्यक्ष सावित्रा दाहाललाई एकलाख १ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको छ ।
झापाको बिर्तामोडमा आज आयोजित समारोहका बीच पत्रकार दाहाललाई उक्त राशिकाे ‘नारी सञ्चार साधना सम्मान’ पुरस्कार प्रदान गरिएको हाे ।
नारी सञ्चार गृहले २५ हजार रुपैयाँ राशिको नारी सञ्चार युवा पत्रकारिता सुष्मा राजवंशीलाई प्रदान गरेको छ । १४ वर्षदेखि सक्रिय राजवंशी रेडियो साथी काँकडभिट्टामा समाचार प्रमुखका रुपमा कार्यरत छिन् ।

प्रदेश सरकारका सहकारी मन्त्री भक्तिप्रसाद सिटाैला र नेपाल पत्रकार महासंघ काेसी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले पुरस्कृत प्रतिभालाई प्रमाण पत्र र नगदसहित दाेसल्ला ओढाएर सम्मान गरेका छन् ।
संस्थाकाे ११ औँ स्थापना दिवसकाे अवसरमा गत भदाै १८ गते बिर्तामोडमा आयाेजित कार्यक्रमका बीच नारी सञ्चार गृहले यी दुई पुरस्कार घाेषणा गरेकाे थियाे । कार्यक्रममा नारी सञ्चार गृहकी पूर्व अध्यक्ष अध्यक्ष अम्बिका भण्डारीले पुरस्कृत प्रतिभाकाे नाम घाेषणा गरेकी छन् ।
कार्यक्रममा दाहालको व्यक्तित्वमाथि पत्रकार ज्याेत्स्ना श्रेष्ठले प्रकाश पारेकी छन् । दाहाल २०५४ सालदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी छन् । पत्रकार राजवंशीकाे व्यक्तित्वमाथि पत्रकार स्वस्तिका आचार्यले प्रकाश पारेकी छन् ।
कार्यक्रम नारी सञ्चार गृहकी अध्यक्ष भीमा सिवाकाेटीकाे अध्यक्षतामा भएको हाे ।