झापा-श्रीमान् फुसन मुर्मू सवारी ज्यान मुद्दामा आठ महिनादेखि झापा कारागारमा छन् । यता काखको १० महिने छोरासहित तीन सन्तान पालन पोषणको अभिभारा बोकेकी झापा बाह्रदशी–७ डाँगीवारीकी राधा मुर्मू क्यान्सर रोगसँग लडिरहेकी छन् ।
१० महिने छोरा, ५ वर्ष र ९ वर्षका दुई छोरीसहित तीन सन्तानकी आमा राधालाई अरुबाट हौसला र आर्थिक सहयोग चाहिएको छ । घाँटीमा समस्या आएपछि शुरुमा उनलाई थाइराइडको शंका लागेको थियो ।
अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले क्यान्सर रोग भनेर बताएपछि उनी आकाशबाट खसेजस्तै भइन् । श्रीमान् कारागारमा अनि सम्पत्तिको नाममा दश धुर जग्गा र सानो एकतले घर । क्यान्सरको उपचारका लागि ठूलो समस्या छ उनलाई ।
आर्थिक अभावका कारण उनले उपचार गर्न सकेकी छैनन् । यस्तो अवस्थामा गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सरपीडित सहयोग संस्थाले सोमवार पीडितको घरमा पत्रकार सम्मेलन गरी सहयोगका लागि आह्वान गरेको छ ।
संस्थाका अध्यक्ष भूपाल बस्नेतले मुर्मूको ज्यान बचाइदिन सबैसँग आग्रह गरेका छन् । कार्यक्रममा बाह्रदशी–७ का वडाध्यक्ष मित्र भट्टराई, बाह्रदशी जेसीजका अध्यक्ष लक्ष्मी उप्रेती, निवर्तमान अध्यक्ष पुष्पलाल धमला, नेपाली कांग्रेस हल्दिवारीका सभापति गंगा प्रसाई, स्थानीय युवा टंक कार्कीले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
पीडित परिवारले माछापुछ«े बैंकमा राधा मुर्मूको नाममा रहेको ४७०५५४०१०५९५०५३४ नम्वरको खातामा रकम जम्मा गरी सहयोग गरिदिन अनुरोध गरेका छन् ।