मेचीनगर–शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. सदस्य सेवा केन्द्र धुलावारी उत्कृष्ट भएको छ । शिक्षाका पाँचवटा सेवा केन्द्रमध्ये धुलावारी सेवा केन्द्र उत्कृष्ट भएको हो ।
सदस्य विस्तार, बचत संकलन, ऋण असुली, कार्य सम्पादन र परिणाममुखी नतिजाका आधारमा धुलावारी सेवा केन्द्र उत्कृष्ट भएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष सुब्रत न्यौपानेले बताए ।
सोमवार सदस्य सेवा केन्द्र धुलावारीको इकाइगत साधारण सभाको अवसरमा अध्यक्ष न्यौपानेले उत्कृष्ट सेवा केन्द्रका विषयमा अवगत गराएका हुन् ।
स्थापनाको छोटो अवधिमा शिक्षा बहुउद्देश्यीय सहकारीले धुलावारीमा सदस्यको मन जित्दै गएको छ । नाफामुखी भन्दा पनि सदस्यको सुविधामा संस्थाले ध्यान दिँदै आएको संस्थाका अध्यक्ष न्यौपाने बताउँछन् ।
बिर्तामोड-२ मा १० कठ्ठा जग्गा किनेकाे शिक्षा बहुउद्देश्यीयले पूर्व प्राथमिक तहको सहकारी विद्यालय सञ्चालन गरिरहेकाे छ । संस्थाकाे शेयर पूँजी ३ कराेड ४९ लाख ८१ हजार रुपैयाँ छ ।
संस्थाले सदस्यहरुलाई मृत्यु राहत संस्कारदेखि मोवाइल बैङ्किङ सम्मका १९ प्रकारका सुविधा प्रदान गर्दै आएको छ ।सुत्केरी खर्चवापत सदस्य महिलाले दुई हजारदेखि १५ हजार रुपैयाँसम्म पाउँदै आएका छन् ।
पुरुष सदस्यले पनि मातृ शिशु सहायतावापत अधिकतम् साढे सात हजार रुपैयाँ पाउँछन् । शिक्षाका सदस्य निशुल्क रगत पाउँछन् ।

शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट भर्खरै सुत्केरी खर्च र पोषण सहायतावापत आफूले ३५ हजार रुपैयाँ सहयोग पाएको संस्थाकी शेयर सदस्य समिक्षा चौलागाईले बताइन् ।
राष्ट्रिय सहकारी बैँककी शाखा प्रमुख मुना घिमिरेको प्रमुख आतिथ्यमा शिक्षा बहुउद्देश्यीय सहकारीले धुलावारीमा इकाइगत साधारणसभा आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले शिक्षा सहकारी झापामा उदाहरणीय संस्थाका रुपमा स्थापित हुँदै गएको बताइन् । उद्देश्य अनुरुप आफ्नै व्यवस्थापनमा विद्यालय सञ्चालन गरेर शिक्षा बहुउद्देश्यीयले नमुना काम थालेको घिमिरेको धारणा छ ।
इकाइगत साधारणसभाको अवसरमा शिक्षा बहुउद्देश्यीय सहकारीले धुलावारी सेवा केन्द्रका उत्कृष्ट बचतकर्ता र ऋणी सदस्यलाई पुरस्कृत पनि गरेको छ । पुरस्कृत हुनेमा राम रिजाल, नीतिका रिजाल, कमल सहनी र सन्तोष विश्वकर्मा छन् ।

उत्कृष्ट बचतकर्ता र ऋणी सदस्यलाई प्रमुख अतिथि घिमिरे, अध्यक्ष न्यौपाने, लेखा समितिका संयोजक युवराज निरौला, उपाध्यक्ष हेमराज मिश्र लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
कार्यक्रममा लेखा समिति सदस्य लक्ष्मी देवानले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी छन् । संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको साधारणसभामा सेवा केन्द्र प्रमुख विपना तिम्सिनाले स्वागत मन्तव्य राखेकी छन् । सदस्य सेवा केन्द्र धुलावारी अन्तरगत ५८५ जना सदस्य रहेका छन् ।