मोरङ-कोशी प्रदेश सरकारले पूर्वी नेपालमा उत्पादित दुग्धजन्य पदार्थ निकासीका लागि बंगलादेशसँग पहल थालेको छ ।
प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँग बुधबार टेलिफोन संवाद गर्दै प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
दुग्धजन्य पदार्थ निकासी नहुँदा प्रदेशमा मिल्क होलिडेको अवस्था सिर्जना भइरहेको छ । किसानले उत्पादन गरेको घिउसमेत बिक्री हुन छोडेपछि प्रदेश सरकारले दुग्धजन्य पदार्थ निर्यातका लागि चासो देखाएको हो ।
नेपालबाट बङ्गलादेशमा दुग्धजन्य पदार्थको निकासीमा ७८% भन्सार तोकिएको छ । चर्को भन्सार दरका कारण उत्पादकले निकासी गर्न सकेका छैनन् ।
दुग्धजन्य पदार्थ बिक्री नहुँदा विराटनगर दुग्ध वितरण आयोजनाले किसानको २५ करोड रुपैयाँ भन्दाबढी भुक्तानी गर्न नसकेको आयोजना प्रमुख परमेश्वर चौधरीले जानकारी दिए ।