७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

धर्मगुरुले भने, ‘गाई काटेर खानेलाई कार्बाही होस्’



बिर्तामोड-सुनसरीको धरानमा आयोजना गरिएको सदभाव र्यालीमा सहभागी हुन हिँडेको टोलीलाई प्रहरीले शनिवार झापाको चारपानेमा रोकेको छ ।

प्रहरीले अगाडि बढ्न नदिएपछि धार्मिक अभियन्ताले पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुने गरी गौ हत्याको विरोधमा धर्ना दिएका छन् ।

गौ हत्याविरुद्ध संगठित भएका धार्मिक अभियन्ताले शनिवार सुनसरीको धरानमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । उनीहरुको प्रदर्शनले सामाजिक सदभाव भड्किन सक्ने भन्दै सुनसरी प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा हुँदाहुँदै धर्मगुरुहरु सम्मिलित टोली झापाको बिर्तामोडबाट हिँडेको थाहा पाएपछि प्रहरीले केहीपर चारपाने चोकमा पुगेर अगाडि बढ्न रोकेको थियो ।

प्रहरी अवरोधपछि धार्मिक अभियन्ताले पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुने गरी गौ हत्याको विरोधमा धर्ना दिएका थिए । प्रहरीले अगाडि बढ्न नदिएपछि आफूहरु सडकमा बस्न बाध्य भएको धार्मिक अभियन्ता चिरञ्जीवि ढुंगानाले बताए ।

धार्मिक अभियन्ता सडकमै धर्नामा बसेपछि दिउँसो २ बजेसम्म पूर्व पश्चिम राजमार्गको बिर्तामोड लक्ष्मीपुर सडकखण्ड अवरुद्ध भएको थियो ।

उनीहरुले विरामी बोकेका एम्वुलेन्सबाहेक अरु सवारी साधनलाई आवतजावत गर्न रोक लगाएका थिए । धर्नामा सहभागी अभियन्ताहरुले गौ हत्या गर्ने माथि राज्यले कार्वाही गर्नु पर्ने माग राख्दै सरकारविरुद्ध नारावाजी पनि गरेका थिए ।

गाई मारेर खान नपाइने भए पनि त्यसमा संलग्नहरुलाई राज्यले कार्वाही नगरेकाले आफूहरु आन्दोलित हुनु परेको अर्का अभियन्ता दीपक सुवेदी बताउँछन् ।

नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावर मानेको छ । यस्तो अवस्थामा गाईलाई मारेर मासु खान पाउनु पर्छ भन्नेहरुले सरकारलाई समेत खुला चनौति दिएको धार्मिक अभियन्ताहरुको ठम्याई छ ।

निरन्तर सनातन हिन्दू धर्ममाथि प्रहार भइरहे वर्तमान सरकारलाई घुडा टेकाउन पछाडि नपर्ने शंकराचार्य पीठ साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाको चेतावनी छ ।

निरपेक्षताको आडमा हुने गतिविधिले सामाजिक सदभाव खल्वलिने भएकाले त्यसमा हरेक नागरिक सचेत हुनुपर्ने बेला आएको व्यासाचार्य खतिवडा बताउँछन् ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार ००:००  १० : १७ बजे