८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

विषयगत सहकारीमा उमेद्वार हुन एमालेको शर्त



दमक–नेकपा एमालेले प्रारम्भिक संस्था मूल्यांकन गरेर मात्र आफू निकटका सहकारीकर्मीलाई उमेद्वार बनाउने नीति अघि सारेको छ । सहकारीकर्मीको आचरण र व्यवहार समेतका आधारमा उमेद्वार बनाउने नीति एमालेले लिएको हो ।

नेकपा एमाले सहकारी तथा गरिवी निवारण विभागका प्रमुख खगराज अधिकारीले प्रारम्भिक संस्था राम्रोसँग नचलाउने तर उमेद्वारीका लागि लडाईँ गर्ने प्रवृत्ति अन्त्य गर्न चाहेको बताए । एमाले निकटका सहकारीकर्मीले चलाएका प्रारम्भिक संस्थाहरु नमुना हुनुपर्ने बताए ।

झापाको दमकमा आइतवार आयोजित कार्यक्रममा अधिकारीले भने, ‘अबदेखि सहकारी संघ–महासंघ, विषयगत संघहरु, सहकारी बैंक आदिको नेतृत्वमा जान चाहने एमालेजनहरु सहकारी अभियान बुझेको, नेतृत्व गर्न सक्ने क्षमता भएको तथा आर्थिकरुपमा क्लिन हुन जरुरी छ ।’

क्राइटेरिया पूरा गरेका अभियानकर्मीको नामहरु फ्याक्सनमा छलफल गरेरमात्र निष्कर्ष निकालिने भएकाले अहिलेदेखि आफू उम्मेदवार भएको प्रचार नगर्न पनि अधिकारीले निर्देशन दिएका छन् ।

विभागीय प्रमुख नारायणप्रसाद भट्टराईको अध्यक्षतामा नेकपा एमाले झापा जिल्ला सहकारी तथा गरिवी निवारण विभागले आयोजना गरेको कार्यक्रममा झापाका अग्रज सहकारीकर्मीको सहभागिता थियो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, उपाध्यक्ष रमेशप्रसाद पोखरेल, नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेल र सञ्चालक घनश्याम अधिकारीले सहकारी महासंघ र नेफ्स्कुनको आसन्न निर्वाचनका विषयमा अवधारणा राखेका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय रोमनाथ ओली र गीता अधिकारी तथा झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीले सहकारीको माध्यमबाटै समाजवादको यात्रा तय गर्न सकिने भएकाले अभियानकर्मीहरुले चनाखो भएर सहकारी हाँक्नु पर्ने सुझाव दिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार ००:००  ७ : ३२ बजे