बिर्तामाेड-जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले नेपाली साहित्य संगीत कलाका बहुमुखी प्रतिभाशाली व्यक्तित्व मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई पूर्ण टुङ्ग आदर्श नागरिक सम्मान २०८० समर्पण गर्ने भएको छ ।
प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरी १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको सम्मान विशिष्ट राष्ट्रिय प्रतिभा मह जोडीलाई समर्पण गर्न लागिएको जनाएको हो ।
प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले नेपाली कलाकारिताको क्षेत्रमा एउटा आदर्श पहिचान स्थापित गरेका दुई व्यक्तित्वलाई सम्मान समर्पण गर्ने निर्णय भएको बताए ।
मह जोडीलाई बिर्तामोडका प्रतिष्ठित सामाजिक व्यक्तित्व टुङ्गबहादुर बस्नेत र उनकी धर्मपत्नी पूर्णकुमारी बस्नेतको स्मृतिमा स्थापित पूर्ण टुङ्ग स्मृति कोषमार्फत उक्त सम्मान प्रदान गर्न लागिएको हो ।
कोषका सदस्य जितेन्द्रकुमार बस्नेतका अनुसार सत्प्रेरणा स्मृति र सम्मानको पृष्ठभूमिबाट जन्मिएको प्रतिष्ठानले चैत ७ गते ग्रीनफिल्ड स्कुलको प्राङ्गणमा आयोजित समारोहका बीच मह जोडीलाई सम्मान गर्नेछ ।
पूर्ण टुङ्ग स्मृति कोषमार्फत विभिन्न विधामा सम्मान गर्न सुरु गरिएको छ। पहिलो कार्यक्रमका रूपमा झापामा पूर्ण टुङ्ग आदर्श नागरिक सम्मान २०८० आयोजना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
प्रतिष्ठानका सचिव लक्ष्मण ढकालका अनुसार प्रतिष्ठानले विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्नुका साथै छात्रवृत्ति लगायतका कार्यक्रम पनि यसअघि सञ्चालन गरेको थियो ।
समाजका विभिन्न क्षेत्रका व्यक्तित्वले आफ्नो परिवारका दिवंगत अग्रजको स्मृतिमा प्रतिष्ठान मार्फत विभिन्न पुरस्कार वितरण गर्दै आएका छन् ।
पूर्ण टुङ्ग स्मृति कोषले पुरस्कार वितरणका लागि १ करोड रुपैयाँको अक्षय कोष खडा गरेको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष राजकुमार पोखरेलसहित पूर्ण टुङ्ग स्मृति कोषका सदस्य श्यामबहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो ।