बिर्तामोड- झापामा हात्तीपाइले रोगविरुद्ध आमऔषधि सेवन कार्यक्रम सुरु भएको छ । झण्डै नौलाख जनसंख्यालाई औषधि खुवाउने लक्ष्यसहित कार्यक्रम सुरु भएको हो ।
सातसय ५० तालिम प्राप्त स्वास्थ्यकर्मीको टोली खटिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । झापामा यो १२ औँ पटकको अभियान हो ।
११औँ चरणमा औषधि खुवाउँदा पनि हात्तीपाइले राेग निवारणमा झापा असफल भएको स्वास्थ्य कार्यालयका प्रमुख बाराकाेटीले बताए । उनका अनुसार अपेक्षा अनुसार मानिसले औषधि सेवन नगरेका कारण याे कार्यक्रम चलिरहेको छ ।
अभियान अन्तरगत बिर्तामोड नगरपालिकाले पनि हात्तीपाइले रोग विरुद्वको आमऔषधि सेवन कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको कार्यालयमा बुधवार नगरप्रमुख पवित्रा महतारा प्रसाईले औषधि सेवन गरेर कार्यक्रम सुरु गरेकी हुन् ।
कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायत जनप्रतिनिधि तथा कर्मचारीले पनि औषधि सेवन गरेका छन् ।
‘बिर्तामोड नगरपालिकाको आव्हान, हात्तीपाइले रोग मुक्त नगर हाम्रो अभियान’ भन्ने नारासहित फागुन ११ देखि १७ गतेसम्म सबै वडामा हात्तीपाइले विरुद्वको औषधि सेवन कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले हात्तीपाइले रोग विरुद्वको औषधि अनिवार्य सेवन गर्न नगरवासी सबैलाई गरेकी छन् । धेरै सर्वसाधारणले औषधि सेवन नगरेको भन्दै उनले त्यस प्रकारको भ्रममा नपर्न आग्रह गरेकी छन् ।
बिर्तामोड नगरपालिका क्षेत्रभित्र औषधि सेवन कार्यक्रमका लागि १५० जना भन्दाबढी तालिम प्राप्त स्वास्थ्यकर्मी खटिएको स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले बताए ।
पहिलो चरणमा प्रत्येक वडामा रहेका विद्यालय र त्यसपछि गाउँ टोलमा पुगेर स्वास्थ्यकर्मीको टोलीले औषधि खुवाउने तयारी रहेको जानकारी दिए ।