बिर्तामोड-पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी प्रदेश सरकारसँग वार्ता गर्ने भएको छ ।
कोशी प्रदेश सरकारले वार्ताका लागि गरेको आह्वान स्वीकार्दै संघर्ष समितिले बुधबार वार्ता गर्ने निर्णय गरेको हो । यसअघि प्रदेश सरकारले पठाएको औपचारिक पत्रको जवाफ नदिई संघर्ष समिति मौन बसेको थियो ।
बुधबार बसेको बैठकले प्रदेश सरकारसँग वार्ता गर्ने निर्णय गरेको सङ्घर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले जानकारी दिनुभयो । प्रदेश सरकारलाई जवाफी पत्र पठाएर वार्ताका लागि तयार रहेको जनाउ दिने निर्णय बैठकले गरेको छ ।
सम्भवत कोशी प्रदेश सरकार र पहिचान पक्षधर राजनीतिक शक्तिबीच शुक्रबार वार्ता हुनेछ । यसअघि प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधरसँग वार्ता गर्न मन्त्री कमलप्रसाद जबेगुको संयोजकत्वमा तीन सदस्य टोली गठन गरेको थियो ।