१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पत्रकार महासङ्घ झापालाई अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २ लाख सहयोग




बिर्तामोड-नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि अन्तर्राष्ट्रिय झापाली समाजले दुई लाख रुपैयाँ सहयोग गरेको छ । शनिबार महासङ्घको बिर्तामोडस्थित कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच समाजले महासङ्घलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गाना, संस्थापक अध्यक्ष एवम् संरक्षक दिनेशकुमार पोखरेल र मध्यपूर्व सहसंयोजक भवानी कोइरालाले महासङ्घका अध्यक्ष एकराज गिरीलाई संयुक्त रुपमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ‌।

यसअघि पनि समाजले पत्रकार उपचार कोषका लागि ५० हजार प्रदान गरेको थियो । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष ढुङ्गानाले पत्रकारहरूको व्यावसायिक क्षमताको विकास र स्वास्थ्य उपचारका क्षेत्रमा सहयोग गर्न पाउँदा अन्तर्राष्ट्रिय झापाली समाज हर्षित रहेको बताए ।

कार्यक्रममा महासङ्घका अध्यक्ष गिरीले बिरामी अवस्थाका पत्रकारलाई सहयोग गर्ने उद्देश्यले स्थापित कोषलाई थप बलियो बनाउन सहयोग गरेकोमा समाजलाई धन्यवाद दिए । उक्त अवसरमा बिर्तामोडका व्यवसायी मोहन पोखरेलले पनि ५१ हजार रुपैयाँको चेक प्रदान गरेका छन् ।

कार्यक्रममा दिइएको जानकारी अनुसार महासंघले स्थापना गरेको उपचार कोषमा करिव एक करोड रूपैयाँ जम्मा भएको छ । कोषमार्फत प्राप्त भएको व्याजबाट महासङ्घले बिरामी अवस्थाका पत्रकारलाई नियमित आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार ००:००  ९ : ३८ बजे