१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

१६ वर्षपछि आमा–छोराको भेट



मेचीनगर–मलेसिया गएका काँकरभिट्टाका गोपाल घिमिरेको १६ वर्षपछि आमासँग भेट भएको छ । मलेसियामा ६ वर्षदेखि सम्पर्कविहिन काँकरभिट्टाका गोपाल घिमिरे १६ वर्षपछि घर आएका हुन् ।

गोपाल शनिवार दिउँसो साढे २ वजे काठमाडौँबाट सौर्य एयरलायन्सको जहाजमा झापा मेचीनगर–६ स्थित काँकरभिट्टा घर आइपुगेका छन् । उनकी आमा सानी घिमिरेले छोरालाई देख्ने वितिकै अंगालो हालेर खुशीले आँसु झारिन् ।

छोरासँग भेट भएपछि आँसु पुछ्दै घिमिरेले भनिन्, ‘छोरा मलेसिया गएको १६ वर्ष भएको थियो । ६ वर्षदेखि सम्पर्कविहिन छोरालाई खोजी गरिदिने पहिलो मेरो भगवान अर्जुन भाइ नै हो । त्यसपछि अर्जुन भाइमार्फत विश्वप्रकाश शर्मा सर र चोलाकान्त पंगेनी सरले गरेको सहयोग कहिलै विर्सने छैन ।’

शुक्रबार मलेसियाबाट काठमाडौँ आइपुगेका घिमिरेलाई नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनीेले पनि भेटेका थिए ।

सांसद शर्माले गोपाल काठमाडौँबाट सौर्य एयरलायन्सको जहाजमा निःशुल्क टिकटमा झापा आएको बताए । सौर्य एयरलायन्सका अध्यक्ष दीपक पोखरेलले गोपालको टिकट निःशुल्क गरिदिएको उनले बताए ।

गत भदौमा मेचीनगरमा पत्रकार सम्मेलन गरेपछि छोरा भेट्ने बाटो खुल्यो । सानी घिमिरेले पत्रकार सम्मेलनमा रुदैँ रुदैँ गरेको भिडियो पत्रकार अर्जुन कार्कीले सामाजिक सञ्जाल र मेचीनगर अनलाइन डटकममा समाचार प्रकाशित गरेपछि गोपाल मलेसियामा भेटिएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार ००:००  ७ : ४५ बजे