१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

कोसी प्रदेशमा शेखर कोइराला समूहको विद्रोह, कार्की मुख्यमन्त्री बन्दै



बिर्तामोड-कोसी प्रदेशको सत्ता समीकरणमा एकपछि अर्काे दावी पेश भएको छ । केन्द्रको सत्ता गठबन्धन माओवादी संसदीय दलका नेता इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउन चाहन्छ । आङ्वोले केन्द्रको निर्देशन अनुसार काङ्ग्रेसका सबै सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीमा आफ्नो दावी पेश गरेका छन् ।

तर, काङ्ग्रेसको संस्थापन इतरसमूह भने आङ्वोलाई मुख्यमन्त्री बनाउन राजी छैन् । पूर्ववत योजनासहित काङ्ग्रेसको संस्थापन इतर पक्षले केदार कार्कीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ । उसले सत्ता गठबन्धनले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको गम्भीर आरोप लगाउँदै कार्कीलाई मुख्यमन्त्री बनाउनु पर्ने जिकिर गरेको हो ।

सरकार निर्माणका लागि भएका प्रयास परिणामविहीन भएको पछिल्लो राजनीतिक परिस्थितिका बीच काङ्ग्रेसको शेखर कोइराला समूहले सत्ता गठबन्धनको निर्णयलाई कोसी प्रदेशमा धुलिसात पार्ने रणनीति अपनाएको छ । मुख्यमन्त्रीका दावेदार कार्कीले आफूहको हस्ताक्षर सत्ता गठबन्धनले दुरुपयोग गरेको बताएका छन् ।

एमालेको समेत समर्थन लिएर काङ्ग्रेस नेता कार्की मुख्यमन्त्री बन्ने दौडमा लागेका छन् । आफ्नै पार्टीका आठजना सांसदको हस्ताक्षर जुटाएका कार्कीलाई सघाउने एमाले रणनीति पटाक्षेप भइसकेको छ ।

आफ्नो पार्टीका आठ र एमालेका ३९ सांसदको हस्ताक्षर बोकेर प्रदेश प्रमुखको कार्यालयमा छिरिसकेका कार्की सम्भवत शुक्रवार मुख्यमन्त्री बन्नेछन् । प्रदेशको अंक गणितीय समीकरणले कार्कीलाई मुख्यमन्त्री बन्न रोक्ने देखिँदैन् ।

राजनीतिक भागवण्डामा सधैँ चेपुवामा परेको कोइराला पक्षको असन्तुष्टि कोसी प्रदेशमा छताछुल्ल भएको छ । सातवटा प्रदेशमा आफ्नो पक्षको एक जना पनि मुख्यमन्त्री नभएको भन्दै काङ्ग्रेस नेता कोइराला सधैँ असन्तुष्ट थिए ।

सत्ता समीकरणमा नयाँ विन्दु पहिल्याउने एउटा अभूतपूर्व मौकाको रुपमा कोइराला पक्षले राजनीतिक जोखिम मोलेर कार्कीलाई मैदानमा पठाएको छ । पार्टीको ह्वीप नलाग्ने परिस्थितिका बीच प्रादेशिक कमाण्ड सम्हाल्ने मनस्थिति बनाएका काङ्ग्रेस नेता कार्कीमाथि कार्वाही गर्ने भन्दै केन्द्रले ‘घण्टी’ बजाइसकेको छ ।

दुई पटक मुख्यमन्त्री हुँदा पनि विश्वासको मत पाउन नसकेका उद्धव थापा पार्टीको प्रदेश सभापति छन् । सत्ता गठबन्धनको केन्द्रीय चाहनाविपरीत कार्कीले मुख्यमन्त्री बन्न खुट्टा उचालेपछि सभापति थापा उनलाई जसरी पनि कार्वाही गराउने मनस्थितिमा पुगेका छन् ।

‘पार्टी नीतिविपरीत उभिने जो कोही माथि कार्वाही हुन्छ’, काङ्ग्रेस संसदीय दलका नेता समेत रहेका थापाले भने, ‘भोलि बस्ने प्रदेश कार्य सम्पादन समितिको बैठकले यस विषयमा ठोस् निर्णय गर्छ ।’ थापाले शुक्रवार कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

पार्टी नीतिको विपक्षमा उभिएका कार्कीसहित आठजना सांसदमाथि कार्वाहीको तयारी गरेको काङ्ग्रेस नेतृत्व आगामी रणनीति तय गर्न व्यस्त छ । तर, त्यतिञ्जेलसम्म कोसी प्रदेशको सत्ता समीकरणमा ठूलै बद्लाव आइसक्छ ।

काङ्ग्रेसका केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पार्टी लाइनविपरीत कोही पनि उभिन नहुने तर्क गर्छन् । उनले कोसी प्रदेशमा भएको विद्रोहलाई रणनीतिक रुपमा विश्लेषण गर्नु पर्ने भए पनि पार्टी अनुशासन सबैभन्दा ठूलो विषय हुने बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार ००:००  ८ : ३५ बजे