१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पेट्रोल पम्प सञ्चालकलाई तीन दिनभित्र उपस्थित हुन बिर्तामोड नगरपालिकाको निर्देशन



झापा-बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका पेट्रोल पम्प सञ्चालकलाई तीन दिनभित्र आवश्यक कागजातहित नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । शुक्रवार पेट्रोल पम्पको स्थलगत अनुगमन तथा निरीक्षणपछि नगरपालिकाले सञ्चालकलाई यस्तो निर्देशन दिएको हो ।

वडाध्यक्षका साथ अनुगमनका लागि पुगेका नगर उपप्रमुख नगेन्द्र संग्रौलाले कतिपय पेट्रोल पम्प तोकिएको मापदण्डका आधारमा सञ्चालन नभएको बताए । ‘समस्या देखिएका पम्पका सञ्चालकलाई कागजातसहित उपस्थित हुन निर्देशन दिएका छौँ, उनले भने ।

अधिकांश पम्पमा रहेका सार्वजनिक शौचालय फोहोर रहेको पाइएको छ । सफा नगरिएको, पानीको व्यवस्थापन नभएको, पानी जमेको लगायतका समस्या रहेको पाइएको हो ।

कतिपय पम्पले नगरमा व्यवसाय नवीकरण नगरेको पाइएको छ । सबैले देख्ने गरी मूल्यसूची नराखेको, मूल्यसूची परिवर्तन नगरेको, अग्नि नियन्त्रक सामग्रीको म्याद गुज्रिएको लगायतका समस्या पनि पाइएको नगर उपप्रमुख संग्रौलाले बताए ।

अनुगमनमा उपप्रमुख संग्रौला, वडाअध्यक्षहरु अग्निप्रसाद पाण्डे, किशोर पौडेल, राहुल शर्मा, रोहित प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष मदनगोपाल सुव्वा लगायतको टोली सहभागी थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार ००:००  ७ : २७ बजे