बिर्तामोड-सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट सेवा केन्द्रका उपसमितिलाई शनिवार पुरस्कृत गरेको छ । ११ औँ विस्तारित भेलाको अवसर पारेर सहाराले १२ वटा सेवा केन्द्र सञ्चालन उपसमितिलाई पुरस्कृत गरेको हो ।
संस्थाले दिएको वित्तिय लक्ष्य पूरा गरेका र भाका नाघेको कर्जा शुन्य भएका सेवा केन्द्रका उपसमितिलाई पुरस्कृत गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।
निर्देशक दिनेशबहादुर निरौलाका अनुसार सहाराले इलाम, घैलाडुब्बा, इँटाभट्टा, झुम्का, बुट्टावारी, बेलवारी, चारआली, भलुवा, ज्ञानेचोक, मंगलवारे, खुदुनावारी र तरहरा सेवा केन्द्रलाई पुरस्कृत गरेको हो ।
उत्कृष्ट सेवा केन्द्रलाई सल्लाहकार देवराज रिजाल, प्रवुद्ध समितिका संयोजक हरिचरण वानियाँ, परामर्श समितिका संयोजक रुपक दाहाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
नेपालको उत्कृष्ट सहकारी संस्थाका रुपमा रहेको सहाराले छ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । ती जिल्लामा ८१ वटा सेवा केन्द्रमार्फत सहाराले वित्तिय सेवा उपलब्ध गराउँदै आएको छ ।
कार्यक्षेत्र विस्तार भएका पाँच जिल्लामा चालु आर्थिक वर्षमा एउटाका दरले सेवा केन्द्र थप गर्ने योजना बनाइएको कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।
काँकडभिट्टादेखि धरानसम्मका २० वटा सेवा केन्द्रलाई वार्षिक पाँच करोड नाफा गर्ने लक्ष्यसहित पूर्ण बैङ्किङ सेवा केन्द्रमा परिणत गर्ने सहाराको लक्ष्य छ ।