ताप्लेजुङ-ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ट्रस (फलामे डण्डी) जडान गरी फाइबरको छहारी लगाइएको छ । पाथीभरा पदमार्ग अन्तर्गत करिव एक किलोमिटर बाटोमा फाइबरको छहारी लगाउने कार्य पूरा भएको हो ।
पाथीभराधामदेखि माथिल्लो फेदीतर्फ पदमार्गमा फाइबरको छहारी लगाउने कार्य भइरहेको छ । हालसम्म ९२० मिटरभित्र छहारी लगाइसकिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।
छहारी लगाउने कार्यका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारको ५० लाख र पाथीभरा क्षेत्र विकास समितिको ४६ गरी कुल ९६ लाख रुपियाँ खर्चिएका छन् ।
पदमार्गलाई तीन मिटर चौडाइमा विस्तार गरी फाइबरको छहारी लगाएको समितिले जनाएको छ । समितिका अनुसार सोलिङ गरेर पदमार्गको स्तरोन्नति गरिएको छ भने दायाँ–बायाँ भागमा ट्रसको रेलिङ लगाइएको छ ।
हिउँद मौसममा पदमार्ग ढाक्नेगरी हिउँ पर्नेगरेका कारण तीर्थयात्रीको यात्रामा भएको असहजतालाई दृष्टिगत गरी पदमार्गमा छहारी लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए ।