१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एकता स्पोर्टिङ गोल्डकप : झापा एफसी फाइनलमा



बिर्तामोड- दोस्रो संस्करणको नेपाल सुपर लिग खेल्ने तयारीमा रहेको झापा एफसी चारपानेमा जारी दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

वीर अमरसिंह माध्यमिक विद्यालयको मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक एकता स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा हराउँदै झापा एफसी उपाधिनजिक पुगेको हो ।

झापा एफसीले उपाधिका लागि कात्तिक ३ गते मोफसलको अर्को चर्चित टिम झापा ११ एफसीको सामना गर्नेछ । झापा ११ ले सैनिक युथ क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । निर्धारित ६० मिनेटमा दुवै टिम शून्यको अवस्था रहेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा झापाका लागि पाँचैजना खेलाडी तारानाथ राजवंशी, अनिष पोमु लिम्बू, सञ्जय धिमाल, पारस कार्की र आयुष श्रेष्ठले गोल गरे भने एकताका खमिर गिल्सन कन्दङवा, आशिष चापागाईं, विशाल बस्नेत र निशान तामाङले गोल गरे ।

एकताका मिलन राईको प्रहार झापाका गोल किप्पर योगेश धिमालले विफल बनाइदिएका थिए ।आजको खेलको प्लेयर अफ द म्याच झापाका गोल किप्पर योगेश धिमाल भए । उनलाई आजका प्रमुख अतिथि देवी संग्रौलाले नगद तीन हजार प्रदान गरे ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको आयोजक एकता स्पोर्टिङ क्लबका अध्यक्ष किरण पौडेलले बताए । प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए ।

प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार ००:००  ९ : २५ बजे