१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने अन्तर्राष्ट्रिय झापाली समाजको प्रस्ताव



झापा-अन्तर्राष्ट्रिय झापाली समाजले शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदानमा आधारित सहकार्य गर्न प्रस्ताव गरेको छ । रोटरी क्लव अफ सुरुंगाले आयोजना गरेको स्वागत कार्यक्रममा समाजको नवनिर्वाचित नेतृत्वले यस्तो प्रस्ताव गरेको हो ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण, छात्रवृत्ति वितरण, चिकित्सा उपकरण खरिद तथा व्यवस्थापन, शव वाहन खरिद, पुस्तकालय स्थापना लगायतमा साझेदारी लगानी गर्न आफूहरु तयार रहेको अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाले बताए ।

समाजले यसअघि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरी १२ कक्षासम्मका ८० जना विद्यार्थीलाई बर्सेनि छात्रवृत्ति प्रदान गर्दै आएको छ । अध्यक्ष ढुंगाना थप विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउन समाज तयार रहेको बताउँछन् ।

कनकाई नगर अस्पतालमा डाइलोसिस मेसिन उपलब्ध गराउने विषयमा पनि समाजले सकारात्मक प्रतिक्रिया दिएको छ । विपन्न समुदायका नागरिकले नगर अस्पतालबाट अधिकतम् उपचार सेवा पाइरहेका छन् ।

झापामा व्यवसायिक लगानी भित्र्याउने र रोजगारीका अवसर सिर्जना गर्ने सवालमा पनि समाजले अग्रसरता लिन चाहेको अध्यक्ष ढुंगानाले बताए । उनले पर्यटकीयस्थल धनुषकोटी धाममा महिलामैत्री शौचालय निर्माणका लागि अविलम्व पहल गर्ने जनाएका छन् ।

कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेल समाजसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताउँछन् । उनले आपसी सहकार्यका माध्यमबाट नगरको शिक्षा र स्वास्थ्य क्षेत्रमा रचनात्मक अभ्यास थालनी हुने बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल, रोटरी क्लव सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेती लगायतले आफ्नो धारणा राखेका छन् । महासचिव नवीन पोखरेलले समाजका गतिविधिबारे अवगत गराएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार ००:००  ९ : ०२ बजे