भद्रपुर-उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङदेनले मेची रंगशालामा आयोजना गरिएको झापा भद्रपुर गोल्डकपको उद्घाटन गर्ने भएका छन् ।
गोल्डकप आयोजक समितिले प्रमुख अतिथिका रुपमा राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री लिङदेनलाई प्रतियोगिता उद्घाटनका लागि आमन्त्रण गरेको हो ।
गोल्डकपका अध्यक्ष दीपेश ढकालले प्रतियोगिताको उद्घाटन झापा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपप्रधानमन्त्री लिङदेनले गर्ने टुंगो लागेको बताए ।
समापनका अवसरमा भने गोल्डकप आयोजक समितिले कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेको छ ।
फागुन ७ देखि १६ गतेसम्म हुने प्रतियोगिताका लागि मेची रंगशालालाई सिँघारिएको छ । प्रतियोगितामा आयोजक भद्रपुर झापा ११, नेपालका तीन विभागीयसहित ६ वटा डिभिजन क्लब र भारत, भुटान र बंगलादेशका तीन विदेशी क्लबको सहभागिता रहनेछ ।
पहिलो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।