२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

मोबाइल एसोसिएसनद्वारा वाणिज्य सङ्घका पदाधिकारीको स्वागत सम्मान



बिर्तामोड-मोबाइल एसोसिएसन बिर्तामोडले बिर्तामोड उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

व्यावसायिक क्षेत्रको विकास, प्रवर्द्धन र सुरक्षाका लागि सङ्घको नयाँ नेतृत्व थप जिम्मेवार र संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याउँदै एसाेसिएसनले स्वागत सम्मान कार्यक्रम आयोजना गरेको हो ।

सङ्घको नेतृत्वमा पहिलोपटक एसोसिएसनका तर्फबाट प्रतिनिधित्व गर्न पाएको भन्दै उसले बिर्तामोडका मतदाता सबै व्यवसायीलाई धन्यवाद पनि व्यक्त गरेको छ ।

मोबाइल एसोसिएसनका अध्यक्ष समेत रहेका युवा व्यवसायी युवराज निरौला यसपटक सङ्घको कोषाध्यक्षमा अत्याधिक मतका साथ विजयी भएका छन् ।

एसोसिएसनले संघका अध्यक्ष राजु न्यौपाने नेतृत्वको व्यावसायिक टिमले व्यवसायीका मुद्दामा आफूलाई केन्द्रीत गर्दै समय सापेक्ष समाधान खोज्न सफल हुने विश्वास पनि व्यक्त गरेको छ ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको विशेष आतिथ्यमा स्वागत सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले संघसँग सहकार्य गर्दै व्यवसायीका साझा मुद्दामा स्थानीय सरकारका तर्फबाट समाधान खोज्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

एसाेसिएसनका वरिष्ठ उपाध्यक्ष सुप्रीत खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतले आम व्यवसायीका समस्याको पक्षमा सङ्घको नेतृत्व उभिने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष न्यौपाने, कोषाध्यक्ष निरौला लगायतले निर्वाचन ताका गरिएका व्यावसायिक प्रतिबद्धता पूरा गर्न स्थानीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने दृढता व्यक्त गरेका छन् ।

एसाेसिएसनका उपाध्यक्ष ऋषि भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सञ्जय साहले गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार ००:००  १० : ४० बजे