इलाम-इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा ‘इलाम गोल्डकप’ आयोजना गरिने भएको छ । माघ ६ देखि १३ सम्म आयोजना गरिने गोल्डकपमा आठ टीम सहभागी हुनेछन् ।
आयोजक रेडहर्स फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । क्लवले प्रतियोगिताको तयारी सुरु गरिसकेको छ ।
पत्रकार सम्मेलनमै सहभागी माइभ्याली फुटबल क्लबका पदाधिकारीले भने यसअघि घोषित ‘माइभ्याली गोल्डकप’ भने तत्काललाई स्थगित गरिएको बताएका छन् ।
माइभ्यालीले यसअघि पत्रकार सम्मेलन आयोजना गरी आउँदो फागुन २४ देखि चैत ३ सम्म माइभ्याली गोल्डकपको सातौं संस्करण आयोजना गर्ने घोषणा गरेको थियो । तर, तत्काललाई इलाम गोल्डकपलाई नै प्राथमिकता दिइने माइभ्याली क्लवका अध्यक्ष दिनेश काफ्लेले बताए ।
‘इलाम गोल्डकपमा भने नेपाल र देशबाहिरका गरी आठ टीम सहभागी हुनेछन् । आयोजकसहित चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरी, बाग्मतीसहितका टीम सहभागी हुने आयोजक रेडहर्सका महासचिव प्रकाश घिमिरेले जानकारी दिए ।
विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीको पुरस्कार भने तय हुन बाँकी छ ।