७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नामकरण विरोधको आन्दोलनमा ज्यान गुमाएका लिम्वूलाई सहीद घोषणा



झापा- सरकारले कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहीद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको बताइन् ।

प्रदेशको नामकरण विवादमा निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्न जाने क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका लिम्वूको चैत १० गते धरानमा उपचारका क्रममा ज्यान गएको थियो ।

२०३७ सालमा तेह्रथुमको साब्लामा जन्मिएका लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह कमान्डर थिए । उनी मोरङको लालभित्तीका स्थायी बासिन्दा हुन् ।

प्रवक्ता शर्माले नामकरणसम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताइन् ।

नामकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले भनिन् ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ००:००  ११ : २२ बजे