झापा-नेपाली कांग्रेसका सांसदहरुले कोसी प्रदेशमा संसदीय दलको नेता परिवर्तनका लागि संगठित प्रयास थालेका छन् । सत्ता केन्द्रीत राजनीतिका लागि लिइएका निर्णय एकपछि अर्काे गर्दै संविधानविपरीत ठहर भएपछि संसदीय दलको नेता परिवर्तनको आवाज उठेको हो ।
संसदीय दलका नेताले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने मत कांग्रेसभित्र बलियो बन्दै गएको छ । उनीहरुले कांग्रेस संसदीय दलका नेता उद्धब थापालाई दलको नेताबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्न संगठित दवाव सुरु गरिसकेका छन् ।
संविधानको धारा १६८ को उपधारा ९२० अनुसार सरकार गठन प्रक्रियामा थापाले अपनाएको तरिका र विधिलाई अदालतले खारेज गरेको र त्यसले काग्रेसको बद्नाम भएको भन्दै उनको विकल्प खोजी सुरु भएको हो ।
थापाले सुझबुझपूर्ण ढंगले नेतृत्व नगरेकै कारण प्रदेश बजेटविहीन भएको र गठबन्धन दलहरु असफल भएको सन्देश जानथालेको पनि दलको नेताको विकल्प खोज्नु पर्ने अवस्था आएको प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री केदार कार्कीले बताए ।
‘उहाँले गठबन्धनलाई सफल बनाउन पनि सक्नुभएन र नेतृत्व पनि गर्न सक्नु भएन । त्यसकारण उहाँले राजीनामा दिनुपर्छ,’ कार्कीले भने, ‘अब पनि थापालाई नै लिएर अगाडि जाने हो भने कोसी प्रदेशमा संघीयता थप बद्नाम हुन्छ ।’