१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

एनएमसीको तेस्रो रणनीतिक व्यवसायिक योजना सार्वजनिक



बिर्तामोड-नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आइतबार तेस्रो रणनीतिक व्यावसायिक योजना सार्वजनिक गरेको छ । बिर्तामोडमा पत्रकार सम्मेलन गरी संस्थाले आवधिक योजना (२०८०-२०८४) सार्वजनिक गरेको हो ।

वार्षिक बजेट तथा कार्यक्रमका अतिरिक्त मध्यकालीन रणनीतिक व्यावसायिक योजना बनाएर सोही आधारमा संस्था सञ्चालन गर्दै आएको नेपाल बहुउद्देश्यीयले भर्खरै तेस्रो रणनीतिक व्यवसायिक योजना स्वीकृत गरेको थियो ।

संस्थाको ऐतिहासिक विकासक्रम, संस्था सञ्चालनको तीन दशकमा प्राप्त अनुभव र सिकाई, समग्र समसामयिक परिवेश, अवसर र चुनौतीको विश्लेषण गरी व्यावसायिक योजना तर्जुमा गरिएको संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बताए ।

व्यावसायिक रणनीतिक योजनामा सदस्य सङ्ख्या विस्तारदेखि कुल सम्पत्ति वृद्धिसम्मका योजना प्रक्षेपण गरिएको छ । २०८४ सम्ममा २,३३,९२१ जना सदस्य बनाउने नेपाल बहुउद्देश्यीयकाे योजना छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले २०८४ सम्ममा संस्थाको वासलात २२ अर्ब ४६ करोड बनाउने लक्ष्य राखिएको जानकारी दिए । उनले वित्तीय संस्थाहरूको प्रतिस्पर्धाका बीच डिजिटल बैंकिङ प्रणालीमा पनि सदस्यहरूलाई जोड्दै लैजाने लक्ष्य राखिएको बताए ।

संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीका अनुसार बचत तथा ऋण व्यवसाय बाहेक अरु व्यवसाय पनि सञ्चालन गरिरहेको नेपाल बहुउद्देश्यीयले संस्थाको आफ्नै नामबाट ब्रान्डिङ गरी तोरीको तेल उत्पादन र बिक्री वितरण गर्ने तयारी पनि गरेको छ ।

एनएमसी एग्रोफार्म अन्तर्गत सञ्चालित गाई फार्मलाई उच्च नश्लमा आधारित बाछी उत्पादन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रणनीतिक व्यावसायिक योजनामा समावेश छ । कम लगानी र कम सञ्चालन खर्चमा सञ्चालन गर्ने गरी सहकारी पसल विस्तार गर्ने योजना पनि समेटिएको छ ।

इलामेली चिया उत्पादक सहकारी संस्थाबाट एकीकरणका क्रममा प्राप्त जग्गामा पार्टी प्यालेस तथा गेस्ट हाउस निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धी कार्यलाई पनि अगाडि बढाइने जनाइएको छ ।

संस्थापक अध्यक्ष उप्रेती एनएमसीको अबको बाटो उत्पादन र बजारीकरणसँग सम्बन्धित रहेको बताउँछन् । अहिले एनएमसीले मह ब्रान्डिङ गरेर बेचिरहेको छ । यसबाहेक एनएमसीको आफ्नै ब्राण्डको चिया पनि बजारमा छ ।

ठूलो लगानीमा डेरी उद्योग सञ्चालन गरिरहेको एनएमसीले पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्ने गरी किसानबाट नियमित दुध खरिद गर्दै आएको छ । परिस्थिति विश्लेषणमा अस्वभाविक परिवर्तन नभएमा आवधिक योजनामा प्रक्षेपण गरिएको लक्ष्य प्राप्त हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत उप्रेतीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै एनएमसीकी लेखा सुपरीवेक्षण समिति संयोजक रचना दाहालले संस्थाले अगाडि सारेको व्यवसायिक लक्ष्य शेयर सदस्यको हितमा रहेको बताइन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार ००:००  ९ : २६ बजे