बिर्तामोड-झापाको बिर्तामोडमा व्यापार व्यवसाय गर्दै आएका पंकज अग्रवाल ‘फरार भएका छन् । व्यवसायी र सर्वसाधारणको करोडौँ रुपैयाँ ठगेर अग्रवाल फरार भएको प्रारम्भिक सूचनाहरु आएको प्रहरीले जनाएको छ ।
प्रहरीले संकलन गरेको प्रारम्भिक सूचना अनुसार चामलको समेत व्यवसाय गर्दै आएका अग्रवालले ८० करोड भन्दाबढी ठगी गरेका छन् । पीडितको उजुरी संकलन भइरहेकाले यो रकम अझै बढ्ने अनुमान गरिएको छ ।
झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङका व्यवसायी तथा सर्वसाधारणले अग्रवालविरुद्ध प्रहरी कार्यालयमा धमाधम उजुरी दिइरहेका छन् । पाँचथर प्रहरीले अग्रवालविरुद्ध बिहीवार १७ जनाको उजुरी परेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा पनि १३ जनाले अग्रवालविरुद्ध उजुरी दिएका छन् । उनी सम्पर्कविहीन भएपछि व्यवसायिक वृत्तमा हल्लीखल्ली भएको छ । सर्वसाधारण हारगुहार गरिरहेका छन् ।
अग्रवालबाट कतिपय अलैँची व्यवसायी पनि पीडित भएका छन् । सपरिवार उनी सम्पर्कविहीन भएपछि धेरैको पैसा डुवेको छ ।