१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

झापा गोल्डकपकाे ट्रफी र सहभागी टीम सार्वजनिक



बिर्तामोड– छैटौँ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टीमहरु सार्वजनिक गरिएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टीमहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ ।

झापा गोल्डकपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको छ । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनसहित नेपालका १० टिमको सहभागिता रहनेछ ।

छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । विभागीय टीमहरु त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष बस्नेतले बताउनु भयो ।

प्रतियोगितामा गत सिजनको सहिद स्मारक ए डिभिजन लिग विजेता टीम चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले सहभागिता जनाउने छन् ।
यो संस्करणमा पहिलोपटक मोफसलका दुई टीमले सहभागिता जनाउने छन् । सर्लाहीको बागमती युवा क्लब र हेटौँडाको एन्फा मकवानपुरले झापा गोल्डकप खेल्ने पक्का भएको अध्यक्ष बस्नेतले बताउनु भयो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार ००:००  ८ : ५० बजे