काँकडभिट्टा-भारतीय सीमावर्ती नाकामा खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-५ घर भएका सुरज कुँवर र सुरेश श्रेष्ठ रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गर्दा प्रहरीले शंका लागेर भद्रपुरको मेची पुलमा गरेको चेकजाँचका आधारमा उनीहरु समातिएकाे झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।
माेटरसाइकलको बाँया साइडकाे इण्डिकेटरभित्र लुकाएर ल्याइएको ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगरसहित उनीहरु समातिएका हुन् ।
प्रहरीले उनीहरु सवार मे ६ प ६२ नम्बरको मोटरसाइकललाई शंका लागेर चेक जाँच गरेको थियो । प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।