१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अदालतको आदेशपछि बीपीमा आन्तरिक बढुवाको बाटो खुला



धरान-बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, कर्मचारी र चिकित्सकको आन्तरिक बढुवाको बाटो खुला भएको छ ।

उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्तरिक बढुवाको प्रक्रिया सुरु गर्ने बाटो खुलेको हो ।

आन्तरिक बढुवा प्रक्रिया रोक्न अन्तरिम आदेश माग गर्दै सञ्जयकुमार मेहताले दायर गरेको रिटमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

लामो समयदेखि बढुवा नभएको जनाउँदै प्रतिष्ठानका शिक्षक कर्मचारी र चिकित्सक आन्दोलनमा थिए । आन्दोलनरत पक्षको माग माग सम्बोधन गर्दै प्रतिष्ठानले आन्तरिक बढुवाको प्रक्रिया सुरु गरेको थियो ।

तर, बढुवाको विषयमा अदालतमा रिट दायर भएपछि शिक्षक, कर्मचारी र चिकित्सकले भद्र अवज्ञा सुरु गरेका थिए । जसका कारण प्रतिष्ठानको नियमित कामकाज प्रभावित भइरहेको थियो ।

बुधबार उच्च अदालतका न्यायाधीश द्वय विपुल न्यौपाने र सूर्यप्रकाश अधिकारीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अब भने प्रतिष्ठानको समस्या हल हुने अपेक्षा गरिएको छ ।

प्रतिष्ठानमा रहेका ३ हजार ३१९ दरबन्दीमध्ये एक हजार ५०३ दरबन्दी रिक्त छन् । रिक्तमध्ये ७६६ दरबन्दीमा आन्तरिक बढुवा गर्न विज्ञापन गरिएको थियो । अदालतले नयाँ नियुक्तिका लागि सुरु गरिएको प्रक्रियामा भने रोक लगाएको छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार ००:००  ९ : ४६ बजे