बिर्तामोड- वडा खेलकुद विकास समिति बिर्तामोड १ को आयोजनामा भएको प्रथम वडाध्यक्ष अण्डर १४ टोल स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधि गैरीगाउँ टोलविकास संस्थाले जितेको छ ।
ग्रीनफिल्ड स्कूलको मैदानमा भएको फाइनल खेलमा पञ्चकन्या टोल विकास संस्थालाई २ १ ले हराउँदै गैरीगाउँले उपाधि जितेको हो । प्रतियोगिताको विजेता गैरीगाउँले नगद २१ हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफी हात पारेको छ ।
प्रतियोगिताको उपविजेता पञ्चकन्याले नगद ११ हजार १ सय ११ रुपैयाँ मेडल र ट्रफी प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट गोलकर्ता पञ्चकन्याका अभियान ढुंगेल र उत्कृष्ठ गोलकिपरमा गैरीगाउँका सुनिल यादवले ट्रफी प्राप्त गरेका छन् ।
गैरीगाउँका अंकुश खड्का फाइनल खेलको म्यान अफ द म्याच भए । विजेतालाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले पुरस्कार प्रदान गरेका छन् ।
प्रतियोगिताको पहिलो पुरस्कार बैदेशिक रोजगार व्यवसायी संघ झापा र दोस्रो पुरस्कार क्रियटिभ इन्टरनेशनल एकाडेमीका संस्थापक एजाज अहमद अन्सारीले प्रायोजन गरेका थिए ।
चैत्र २६ गतेदेखि सुरु भएको प्रतियोगितामा १० वटा टोल विकास संस्थाहरुको सहभागिता रहेको थियो । वडा खेलकुद विकास समितिका अध्यक्ष केशव पोखरेलले प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिने जानकारी दिए ।