बिर्तामोड-बिर्तामोड नगरपालिकाले वडा तहबाट विद्यालयको सय मिटर वरपर सुर्ती (मधु र गुट्का) र मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाउने नीति अगाडि सारेको छ ।
बालबालिकाको मनोविज्ञानमा पर्ने असरलाई ध्यानमा राखेर नगरपालिकाले वडास्तरबाट विद्यालय वरपर त्यस्ता पदार्थको बिक्रीमा रोक लगाउने नीति लिएको हो ।
शुक्रवार बिर्तामोड वडा नम्वर–२ बाट विद्यालय वरपर सुर्ती र मदिराजन्य पदार्थको बिक्रीवतरण तथा प्रयोग नियन्त्रण सम्वन्धी अभियान सुरु भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले अभियानको उद्घाटन गरेकी छन् ।
अभियानको शुभारम्भ गर्दै नगर प्रमुख प्रसाईले बालबालिकालाई कुलतमा फस्नबाट जोगाए मात्रै अनुशासित नागरिक उत्पादन हुने बताइन् । ‘उमेर बढ्दै गएका बालबालिका कुलतमा फसेर बिग्रिए भने सडक राम्रो बनाएर मात्र हुँदैन्’, नगर प्रमुख प्रसाईले भनिन् ।

वडाध्यक्ष किशोरकुमार पौडेलका अनुसार अब वडाको सार्वजनिक तथा संस्थागत विद्यालयको सय मिटर वरपर सुर्ती र मदिराजन्य पदार्थ बेच्न पाइँदैन् । बेच्ने उपर प्रचलित कानुन अनुसार कार्वाही गर्ने अध्यक्ष पौडेलले बताए ।
उज्यालो चारपाने बाल क्लवको समेत सहभागितामा वडाले यो अभियान सञ्चालन गरेको हो । अभियान अन्तरगत विद्यालयको सय मिटर वरपरका व्यवसायीलाई सुर्ती र मदिराजन्य पदार्थ नबेच्न शुक्रवार सार्वजनिक रुपमा अनुरोध गरिएको छ ।
वडा सदस्य, कार्यपालिका सदस्यहरु, वडा सचिव, बाल क्लवका पदाधिकारी, विद्यालयका शिक्षक र सञ्चारकर्मी सम्मिलित टोलीले विद्यालय वरपरका पसल पसलमा गएर यस्तो अनुरोध गरेका हुन् ।