एजेन्सी– इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्व सैनिकलाई कतारमा मृत्युदण्डको फैसला सुनाइएको छ । कतारको एक अदालतले इजरायलका लागि जासुसी गरेको अभियोगमा ८ जना भारतीय पूर्व सैनिकलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
कतारस्थित सञ्चारमाध्यमका अनुसार उनीहरूलाई गत वर्षको अगष्टमा पक्राउ गरेर हिरासतमा राखिएको थियो । हालै अदालतले उनीहरूको मुद्दामा अन्तिम फैसला गर्दै मृत्युदण्ड सुनाएको हो ।
आठैजना भारतीय कतारको कन्सल्ट्री कम्पनी अलदहरामा कार्यरत थिए, जसले कतारी सरकारलाई पनडुब्बी जहाजहरूको अधिग्रहण सम्बन्धमा परामर्श दिने गर्छ ।
भारतीय नौसेनामा रहँदा थुप्रै युद्धको कमाण्ड गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत १ अक्टोबरमा कतारस्थित भारतीय राजदूतले हिरासतमा ती भारतीयहरूलाई भेटेका थिए ।
उनीहरूलाई कतारको अत्याधुनिक पनडुब्बी कार्यक्रमबारेको गोप्य जानकारी इजरायललाई दिएको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारत सरकारले आफ्ना नागरिकलाई सुनाइएको फाँसीको सजायले स्तब्ध बनाएको र यस विषयमा सबै कानुनी विकल्पहरु खोज्ने जनाएको छ ।
‘हामीले यस विषयलाई उच्च प्राथमिकतामा हेरेका छौं र यस विषयलाई कतारको प्रशासनसमक्ष पनि उठाउनेछौँ’, भारतीय विदेश मन्त्रायलले भनेको छ ।
पक्राउ परेका व्यक्तिहरू अल दाहरा कम्पनीमा कार्यरत थिए । सो कम्पनीले कतारका सैनिकलाई तालिम र त्यससँग सम्बन्धित अन्य सेवाहरू उपलब्ध गराउँदै आएको थियो ।