१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

न्युटन्सको २१ औँ वार्षिकाेत्सव : रक्तदानसँगै पुरस्कार वितरण



बिर्तामोड-न्युटन्स एजुकेसन एकेडेमीले सोमबार एक्काइसौँ वार्षिकाेत्सवका अवसरमा रक्तदान आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत न्युटन्सले रक्तदान आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा १३८ जनाले रगत दिएका छन् । शल्यक्रियाका लागि आवश्यक पर्ने रगत अभाव हुन नदिन रक्तदान गरिएको विद्यालयले जनाएको छ ।

रक्तदानसँगै न्युटन्सले नगरस्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेता विद्यार्थीलाई नगद पुरस्कार पनि वितरण गरेको छ ।

प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, विशेष अतिथि बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारी, प्याप्सन झापाका अध्यक्ष गौरीमान फागो लगायतले विजेता विद्यार्थीलाई नगद र प्रमाणपत्र वितरण गरेका हुन् ।

प्रतियोगितामा बाल्मिकी स्कुलकी मोनिका भण्डारी प्रथम, मोहनमाया माविका प्रज्ञान खनाल दोस्रो, तक्षशिला स्कुलकी सृष्टि कटेल तेस्रो र न्युटन्स एजुकेसनकी श्रेयशी कार्की सान्त्वना भएका थिए ।

बिर्तामोडको एउटा उत्कृष्ट व्यवस्थापन भएको निजी विद्यालयका रूपमा न्युटन्स एजुकेसन एकेडेमी परिचित छ। शिक्षासेवी हरिकुमार प्रसाईले स्थापना गरेको यो विद्यालयमा अहिले १६ सय भन्दाबढी विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईका अनुसार १२ कक्षासम्म सञ्चालित विद्यालयमा १६० जना शिक्षक कर्मचारीले काम गर्दै आएका छन् । विद्यालयमा बालक्लब, टुरिजम क्लब, स्काउट गरेर तीनवटा क्लबमार्फत विद्यार्थीलाई सामाजिक क्षेत्रमा चलायमान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष धर्मा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सरोज पौडेलले गरेका थिए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार ००:००  ८ : ३५ बजे