१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शिविरबाट पाँच सयबढी विद्यार्थी र अभिभावक लाभान्वित



बिर्तामोड- बिर्तामोड नगरपालिका–७ विरानस्थित कञ्चन इङ्गिलस बोर्डिङ स्कूलमा शुक्रवार आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी विद्यार्थी र अभिभावक लाभान्वित भएका छन् ।

मनमोहन हस्पिटल बिर्तामोडको प्राविधिक सहयोगमा भएको शिविरबाट स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न नसक्ने ग्रामीण क्षेत्रका विद्यार्थी र अभिभावकहरुले भरपूर लाभ लिएका हुन् ।

विद्यालयको प्रांगणमा आयोजित शिविरमा उनीहरुको घुइँचो नै लागेको थियो । शिविरमा ५०४ जना विद्यार्थी र अभिभावकले चेकजाँच गराएको विद्यालयका फाउन्डर प्रिन्सिपल दीपक चम्लागाईले बताए ।

विद्यार्थीहरु विरामी भइरहेकाले नियमित कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा मनमोहन हस्पिटलका बालरोग विशेषज्ञ डा. वरुण अग्रवालको नेतृत्वमा १३ जनाको स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

टोलीमा मेडिकल अफिसरहरु डा. आरजु सुनुवार, डा. अजाज आचार्य, दुईजना हेल्थ असिस्टेन्टलगायतले सेवा दिएको विद्यालयका संस्थापक तथा एकाउन्टेन्ट डिल्लीराम चम्लागाईले बताए ।

मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर पनि आयोजना गरिएको छ । शिविरमा निःशुल्क औषधी वितरणसमेत गरिएको थियो ।

विरामी भएपछि मात्र स्वास्थ्य संस्थामा जाने अबस्था भएका निम्न वर्गीय परिवारका लागि सो शिविर फलदायी रहेको अभिभावक कल्पना रोक्काले बताइन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार ००:००  ११ : ०४ बजे