१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

फिक्कलमा स्टडी पार्क एजुकेसन नेटवर्कको शाखा



फिक्कल– इलामको फिक्कलमा स्टडी पार्क एजुकेसन नेटवर्क बिर्तामोडको शाखा शुक्रबारदेखि सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रियस्तरमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलव्ध गराउने उद्देश्यसहित सूर्योदय नगरपालिका ८ फिक्कल पेट्रोल पम्प नजिक शाखा शुरु भएको हो ।

शाखाले युवाहरुको चाहना अनुसारको जीवन उपयोगी सीप र तालिम प्रदान गर्ने लक्ष्य लिएको शाखा प्रमुख राजन प्रधानले जानकारी दिए । सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले शाखाको उद्घाटन गर्दै युवाहरुको आवश्यकता अनुसारको ज्ञान र सीप उपलव्ध गराउनु पर्ने बताए ।

नेटवर्कले अन्तर्राष्ट्रियस्तरमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवश्यक जानकारी, मार्गदर्शन प्रदान गर्ने कम्पनीका अध्यक्ष मदन बुढाथोकीले बताए । उनले घरबाट बाहिर गएर अध्ययन गर्नुपर्ने विद्यार्थीका लागि सहज वातावरण निर्माण गर्न इलामको फिक्कलमा शाखा स्थापना गरेको बताए ।

नेटवर्कले विशेषज्ञ परामर्श र मार्गदर्शन बाहेक आएल्स र पिटिइको तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ । स्टडी पार्कका निर्देशक सरोज पौडेलले नेटवर्कको परामर्श र तालिम प्राप्त गरेका युवाहरुले यसअघि नै उत्कृष्ट अंक प्राप्त गरेर सफलता प्राप्त गरेको दावी गरे ।

शाखाले लोकसेवा तयारी कक्षा, कम्प्युटर तालिम, ट्युसन र कोचिङ कक्षा समेत सञ्चालन गर्ने जनाएको छ । शाखाले विद्यार्थीलाई आर्थिक सहायता, बीमा लगायतमा पनि सहयोग गर्ने जनाएको छ । शाखाले विद्यार्थीको लागि आवासको पनि प्रवन्ध गर्ने शाखा प्रमुख प्रधानले बताए ।

सूर्योदय नगरपालिका ८ का वडा अध्यक्ष जंग गुरुङले युवाहरुलाई क्षमतावान बनाउने काममा नेटवर्कले गर्ने सबै प्रयासमा सहयोग गर्ने बताए । कार्यक्रममा न्युटन्स एजुकेशन एकाडेमी बिर्तामोडका प्रधानाध्यापक देवेन्द्र हुमागाईले शाखाले जीवन उपयोगी शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

निधि कलेज बिर्तामोडका रञ्जित साहले आफूले समेत सानो क्षेत्रबाट काम शुरु गरेको अनुभव सुनाउँदै शाखाले इलामका युवाहरुको आवश्यकतालाई समेटेर काम गर्ने बताए ।

उद्घाटन कार्यक्रममा सञ्चालक उदय काफ्ले ,सन्नी दास, राइट एजुकेशनका प्रमुख नवीन बोहोरा , बारिस्ता प्रशिक्षक मनिष अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ००:००  ९ : ५६ बजे