१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटर फाइनलमा



बिर्तामोड– झापा गोल्डकपको आइतबार भएको दोस्रो दिनको खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ । नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

चर्च ब्वाइजका लागि विदेशी खेलाडी अवयमी र समिर तामाङले गोल गरेका छन् । खेलको ५३ औँ मिनेटमा अवयमीले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले अवयमीमाथि फाउल गरेपछि पेनाल्टीकाे अवसर पाएको चर्च ब्वाइजले त्यसलाई गोलमा परिणत गरेको हो ।

खेलको ७७ औँ मिनेटमा समिरले चर्च ब्वाइजका लागि अर्को गोल गरेका हुन् । उनले अवयमीको पासमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच ‍‍ चर्चब्वाइजका अवयमी घोषित भएका छन् ।

जितसँगै चर्च ब्वाइजले मंगलबार एनआरटीसँग क्वाटरफाइनल खेल्ने भएको छ । सोमबारको पहिलो क्वाटरफाइनल खेल बागमती र एपीएफबीच हुने आयोजकले जनाएको छ ।

२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैठौँ संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्ने अध्यक्ष बिनाेद बस्नेतले बताए ।

उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए । प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार ००:००  ५ : ४७ बजे